चैतन्य सम्बाददाता, Author at Chaitanya News
  • 2026-11-20
  • 09:09:52
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

कोप–३१ मा हिमालका मुद्दामा भानुआटुको समर्थन खोज्दै नेपाल

काठमाडौँ– जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ तथा हिमनदी पग्लिने र टापु राष्ट्रमा समुद्री सतह बढ्ने चुनौतीलाई साझा एजेन्डाका रूपमा अघि बढाउन नेपाल र भानुआटुले सहकार्य गर्ने भएका छन्। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको ३१औँ सम्मेलन (कोप–३१) का क्रममा नेपालका कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र भानुआटुका जलवायु परिवर्तनमन्त्री राल्फ रेगेनभानुबीच भएको द्विपक्षीय भेटवार्तामा जलवायु संकटको सामना गर्न आपसी सहकार्य सुदृढ गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। भेटमा मन्त्री चौधरीले नेपाल र भानुआटु दुवै जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुक भएकाले हिमाल र महासागरको संरक्षणका लागि अन्तर्राष्ट्रिय मञ्चमा साझा आवाज उठाउनुपर्ने बताइन्। उनले ‘सगरमाथादेखि समुद्रसम्म’ भन्ने अवधारणामार्फत हिमाली मुलुक र टापु राष्ट्रले भोगिरहेका जलवायुजन्य समस्यालाई एउटै साझा एजेन्डाका रूपमा अघि बढाउन प्रस्ताव गरिन्। हिमाली क्षेत्रमा हिउँ तथा हिमनदी पग्लिने र समुद्री सतह बढ्ने समस्या एकअर्कासँग सम्बन्धित रहेको उल्लेख गर्दै उनले यी विषयलाई जलवायु वार्ताको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्। मन्त्री चौधरीले रसुवा–भोटेकोशी क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा आर्थिक क्षतिबारे पनि भानुआटुका मन्त्रीलाई जानकारी गराइन्। विपद्पछि भानुआटुले व्यक्त गरेको ऐक्यबद्धताप्रति उनले धन्यवाद व्यक्त गरिन्। नेपालले कोप–३१ का मुख्य निर्णयमा हिमालसम्बन्धी विषय समेट्न भानुआटुको समर्थनसमेत मागेको छ। जलवायु परिवर्तनका कारण हुने क्षति तथा नोक्सानीको सम्बोधनका लागि दुवै देशले अन्तर्राष्ट्रिय तहमा संयुक्त रूपमा आवाज उठाउनुपर्ने विषयमा पनि छलफल भएको थियो। भेटवार्तामा हिमाल तथा महासागर संरक्षण, जलवायु न्याय, अनुकूलन र जलवायुजन्य क्षति तथा नोक्सानीका विषयमा साझा धारणा निर्माण गर्दै अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

News by कोप–३१ मा हिमालका मुद्दामा भानुआटुको समर्थन खोज्दै नेपाल :