काठमाडौं- गत आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरा विमानस्थल अवतरणका क्रममा दुर्घटना भयो । दुर्घटनामा परी ७२ जनाको ज्यान गुमाए। यती एयरलाइन्सको ९ एन–एएनसी जहाज पोखरा विमानस्थलमा अवतरण हुनै लाग्दा दुर्घटनामा परेको थियो। त्यसपछि नेपाली आकाश र उड्डयन क्षेत्रलाई लिएर आम जनमानसमा त्रास फैलिएको छ।
कतिपयले पुराना विमानका कारण नेपालमा दुर्घटना हुने क्रम बढ्दो रहेको बताइरहेका छन् त कतिपयले नेपाली आकाश नै सुरक्षित नरहेको तर्क गरिरहेका छन्। कतिपयले चालकलाई नै पनि दोष दिने गरेको पाइन्छ। करिब १६ वर्ष विदेशी आकाशमा जहाज उडाएका वरिष्ठ क्याप्टेन कुमार पाण्डेय भने जहाँज पुरानो नहुने बताउँछन्।
उनले २५/३० वर्षसम्म जहाँज पुरानो नहुने बताए ‘विमानका प्रत्येक नटबोल्टदेखि यन्त्रउपकरणहरूको आयु हुन्छ। विमान पुरानो भन्ने हुँदैन। नियमित जाँच गरेर आयु सकिएका सामान फेर्दा सधैँ जहाज नयाँ नै हुन्छ’, उनी भन्छन। कतिपय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा तथ्यबिनाका कुराहरू आइरहेको भन्दै उनले त्यस्ता भ्रमका पछि नलाग्न आग्रह गरे।
नेपालको आकाश र नेपालका प्लेन सुरक्षित रहेको उनको तर्क छ। ‘सम्बन्धित निकायले सुधार गर्नुपर्ने थुप्रै कुरा छन्। तर, नेपाली आकाश र प्लेनलाई दोष दिनु हुँदैन। म सबै नागरिकलाई प्लेन चढ्न आग्रह गर्छु,’ उनी भन्छन्।
नेपालमा एक्सपर्ट पाइलट रहेको र राम्रा–राम्रा इन्जिनियर भएको उनको भनाइ छ। उड्डयन क्षेत्रलाई सुरक्षित तुल्याउन मानवीय कमजोरीलाई सुधार्नुपर्नेमा उनको जोड छ। ‘मैले करिब १६–१७ वर्ष विदेशमा प्लेन उडाएको छु। सानो घटना मेरो पनि भएको छ। त्यो हुँदा प्लेनले मलाई यसो गर त्यसो गर भनेर सिकाएको छ। यसमा (एटीआर जहाजमा) सेफ्टी एकदमै राम्रो छ। प्लेन र पाइलटलाई बदनाम गर्नु हुँदैन,’ उनले भने, ‘नियमित चेकजाँच भएको छ कि छैन भनेर नियामक निकायलाई नियमनको लागि प्रेसर दिने हो। नियमित इक्युपमेन्टको चेकजाँच हुँदा प्लेन पूर्ण रुपमा सुरक्षित हुन्छ। एयरलाइन्सलाई प्रेसर दिने हो। पाइलटलाई पनि अनुशासित बन्न भनेर प्रेसर दिने हो। हाम्रो साह्रै बदनाम भइसक्यो। म नेपालको पाइलट हुँ भन्दा पनि मानिसले नाक खुम्च्याउने अवस्था सिर्जना भएको छ। यो अवस्थालाई रोक्न सबै लाग्नुपर्छ।’
पाइलटको भूमिका महत्वपूर्ण हुने र प्लेनका लागि उ कमान्डर हुने भएकाले कुनै कमजोरी गर्न नहुने उनको भनाइ छ। पाइलटले घरको समस्या भए घरमा राखेर आउने, आर्थिक समस्या भए बैंकमा राखेर आउने गर्नुपर्ने उनले बताए।