काठमाडौँ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा देखिन थालेसँगै देशका अधिकांश स्थानको मौसम प्रभावित हुने भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज र भोलि विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपात हुने सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावसँगै चक्रवात ‘अर्नब’को असरले देशभर साधारणतया बादल लागेको छ । हाल कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने पूर्वानुमान गरिएको छ ।
त्यस्तै, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हुरी चल्न सक्ने सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षासँगै हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
आज राति पनि देशका अधिकांश स्थानमा बादल लाग्ने र मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ । केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ ।
महाशाखाले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा र हिमपात हुन सक्ने चेतावनी दिएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ ।
सम्भावित प्रतिकूल मौसमलाई ध्यानमा राख्दै महाशाखाले आज र भोलि धानबाली भित्र्याउनेलगायत कृषि कार्य नगर्न अनुरोध गरेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन तथा पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरिएको छ ।
उच्च हिमाली क्षेत्रमा पुगिसकेका पर्यटकलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा बस्न पनि महाशाखाले अनुरोध गरेको छ ।
वर्षाका कारण चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान तथा सडक छेउमा पहिरो खस्न सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । सम्भावित जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी गर्नसमेत महाशाखाले अनुरोध गरेको छ ।