धनगढीमा चैतन्य पाठशाला जिल्लास्तरीय अन्तरविद्यालय फुटबल हुने - Chaitanya News
  • 2026-10-13
  • 18:35:36
  • मंगलबार,आश्विन २७, २०८३
  • धनगढीमा चैतन्य पाठशाला जिल्लास्तरीय अन्तरविद्यालय फुटबल हुने

    धनगढीमा चैतन्य पाठशाला जिल्लास्तरीय अन्तरविद्यालय फुटबल हुने

    धनगढी: ‘फुटबल फर स्कूल: रोड टु वर्ल्ड कप’ नारासहित कैलालीमा १४ वर्षमुनिका छात्रछात्राको जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता सञ्चालनका लागि कैलाली जिल्ला फुटबल संघ र चैतन्य पाठशालाबीच असोज २७ गते सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

    विद्यालयस्तरबाटै फुटबल खेलको विकास र प्रवर्द्धन गर्ने, बालबालिकामा खेलप्रतिको रुचि बढाउने तथा प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

    प्रतियोगिता आगामी मंसिर २५ देखि पुस ८ गतेसम्म धनगढी रंगशालामा सञ्चालन हुनेछ। प्रतियोगितामा छात्र र छात्रातर्फ १६/१६ गरी ३२ टिमको सहभागिता रहनेछ।

    प्रत्येक टिममा अतिरिक्त खेलाडीसहित २० जना खेलाडी रहनेछन्। त्यस्तै, प्रत्येक टिममा प्रशिक्षक, व्यवस्थापक र फिजियोसहित २३ जनाको टोली हुनेछ।

    प्रतियोगितामा ३२ टिमका खेलाडी तथा अफिसियलसहित प्रत्यक्ष रूपमा ७३६ जनाको सहभागिता रहने आयोजकले जनाएको छ। प्राविधिक तथा व्यवस्थापन पक्षसमेत जोड्दा खेलाडी, अफिसियल र रेफ्री गरी ७५० भन्दा बढीको सहभागिता रहने कैलाली जिल्ला फुटबल संघले जनाएको छ।

    प्रतियोगिताको विजेता टिमले एक लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। दुवै टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्रसमेत प्रदान गरिनेछ।

    सम्झौतापछि बोल्दै चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले विद्यार्थीलाई कक्षाकोठाको सिकाइमा मात्र सीमित नराखी खेलकुद तथा समाजमा योगदान पुर्‍याउने गतिविधिसँग जोड्नुपर्ने बताए।

    चैतन्य पाठशालाले खेलकुदलाई व्यवस्थित रूपमा अगाडि बढाउन खोजिरहेको उल्लेख गर्दै उनले विद्यार्थीलाई विभिन्न खेलकुदका अवसर र सम्भावनासँग जोड्ने प्रयास भइरहेको बताए।

    ‘चैतन्य पाठशालाले विद्यार्थीहरूलाई खेलकुदका अवसरसँग जोड्न खोजिरहेको छ। विभिन्न खेलकुदका अवसर र सम्भावनासँग जोड्छौँ,’ उनले भने, “बालबालिकालाई जीवनपद्धतिसँग जोडिएका सीप सिकाउने उद्देश्यले चैतन्य स्किल ल्याब सञ्चालनमा ल्याउने जमर्को पनि गरेका छौँ।’

    अध्यक्ष जोशीले कैलाली जिल्ला फुटबल संघसँग दीर्घकालीन सहकार्य गर्दै जिल्लामा फुटबलको विकास र नयाँ प्रतिभाको पहिचानमा योगदान दिन चाहेको बताए।

    कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले चैतन्य पाठशालासँग सहकार्य गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गरे। उनले प्रतियोगिताले फुटबलमा नयाँ खेलाडी पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै संघले चैतन्य पाठशालासँग दीर्घकालीन सहकार्य गर्न चाहेको बताए।

    ‘फुटबल फर स्कूल: रोड टु वर्ल्ड कप’ अवधारणाअन्तर्गत आयोजना हुन लागेको प्रतियोगिताले विद्यालयस्तरमा फुटबलको पहुँच विस्तार गर्नुका साथै छात्रछात्राको खेल सहभागिता बढाउन र उनीहरूमा रहेको प्रतिभा उजागर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    कैलाली जिल्ला फुटबल संघ र चैतन्य पाठशालाबीचको सहकार्यले जिल्लामा विद्यालयस्तरीय फुटबलको विकास तथा भविष्यका खेलाडी उत्पादनमा थप योगदान पुर्‍याउने विश्वास गरिएको छ।