इजरायली कृषि प्रविधि नेपालमा भित्र्याउनेदेखि श्रमिकको सुरक्षा बलियो बनाउनसम्म कर्णको योजना - Chaitanya News
  • 2026-10-13
  • 15:18:35
  • मंगलबार,आश्विन २७, २०८३
  • इजरायली कृषि प्रविधि नेपालमा भित्र्याउनेदेखि श्रमिकको सुरक्षा बलियो बनाउनसम्म कर्णको योजना

    इजरायली कृषि प्रविधि नेपालमा भित्र्याउनेदेखि श्रमिकको सुरक्षा बलियो बनाउनसम्म कर्णको योजना

    काठमाडौँ– इजरायलको आधुनिक कृषि प्रविधि नेपालमा भित्र्याउने, साइबर सुरक्षा सुदृढ गर्ने र नेपाली श्रमिकको समस्या तत्काल सम्बोधन गर्ने संयन्त्र विकास गर्ने योजनासहित इजरायलका लागि प्रस्तावित नेपाली राजदूत सुरेशकुमार कर्णले आफ्नो कार्ययोजना अघि सारेका छन् ।

    मंगलबार संसदीय सुनुवाइ विशेष समितिको बैठकमा कार्ययोजना प्रस्तुत गर्दै कर्णले नेपाल–इजरायल सम्बन्धलाई आर्थिक, प्राविधिक र लगानी सहकार्यमा केन्द्रित गर्ने प्रतिबद्धता जनाएका हुन् ।

    उनले इजरायलमा विकसित आधुनिक कृषि प्रविधिलाई नेपालको कृषि क्षेत्रमा उपयोग गर्न ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्ने बताए । इजरायल सरकारको सहयोगमा कृषि प्रविधिको विकास र विस्तारका लागि सम्बन्धित मन्त्रालयसँग समन्वय गरी ठोस योजना अघि बढाउने उनको भनाइ छ ।

    कृषिसँगै इजरायलमा कार्यरत नेपाली श्रमिकको सुरक्षा र सेवाप्रवाहलाई पनि उनले प्राथमिकतामा राखेका छन् । श्रमिकका समस्या पहिचान गर्न, कन्सुलर सेवाको अवस्थाबारे जानकारी लिन तथा वास्तविक समयमै सूचना प्रवाह गर्न ‘ड्यासबाट कनेक्ट’ नामक प्राविधिक संयन्त्र निर्माण गर्ने उनको योजना छ ।

    उक्त प्रणालीमार्फत श्रमिकका समस्या व्यवस्थित रूपमा अभिलेख गर्ने र समाधान प्रक्रियाको अनुगमन गर्ने लक्ष्य राखिएको उनले बताए । प्रणालीको सर्भर नेपालमै राखेर आवश्यक सुरक्षा मापदण्ड सुनिश्चित गरिने पनि कर्णले स्पष्ट पारे ।

    सूचना प्रविधि र बैंकिङ क्षेत्रमा आफ्नो अनुभव रहेको उल्लेख गर्दै उनले नेपालमा वैदेशिक लगानी भित्र्याउन पहल गर्ने प्रतिबद्धता जनाए । नेपाल र इजरायलबीचको आर्थिक सहकार्य विस्तार गर्दै लगानीका सम्भावित क्षेत्र पहिचान गर्ने उनको योजना छ ।

    यसैबीच, कोमो ल्याब प्राइभेट लिमिटेडसँगको आफ्नो संलग्नता निजी क्षेत्रको पहल भएको स्पष्ट पार्दै कर्णले स्वार्थको द्वन्द्व उत्पन्न नहोस् भनेर आफूले त्यसबाट राजीनामा दिइसकेको जानकारी दिए ।

    उनले दुई देशबीच पर्यटन प्रवर्द्धनका लागि सन् २०२७ मा ‘ट्रेक फर रिकभरी’ अभियान सञ्चालन गर्ने योजना पनि प्रस्तुत गरे । साथै, नेपाल र इजरायलबीच हवाई सम्पर्क विस्तार गर्न हवाई सेवा सम्झौताको कार्यान्वयनमा जोड दिने उनले बताए ।

    कर्णको कार्ययोजनामा कृषि आधुनिकीकरण, श्रमिकको सुरक्षा, साइबर सुरक्षा, वैदेशिक लगानी र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ । प्रस्तावित योजनाहरू कार्यान्वयनमा आए नेपाल–इजरायल सम्बन्धलाई परम्परागत कूटनीतिक सम्बन्धबाट आर्थिक तथा प्राविधिक सहकार्यतर्फ विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।