विपद् आउनुअघि नै सक्रिय हुने प्रणाली बनाउनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ - Chaitanya News
  • 2026-10-13
  • 15:18:16
  • मंगलबार,आश्विन २७, २०८३
  • विपद् आउनुअघि नै सक्रिय हुने प्रणाली बनाउनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

    विपद् आउनुअघि नै सक्रिय हुने प्रणाली बनाउनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

    काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन व्यक्ति केन्द्रित कार्यशैलीभन्दा वैज्ञानिक तथ्यांक र प्रमाणमा आधारित संस्थागत प्रणाली विकास गर्नुपर्ने बताएका छन् ।

    मंगलबार ‘विपद् उत्थानशीलताको सुरुवात घरबाटै’ अभियान सुरु गर्दै मन्त्री श्रेष्ठले विपद् आइपरेपछि मात्र सक्रिय हुने प्रवृत्तिको अन्त्य गर्दै जोखिमको पूर्वानुमान, निगरानी र पूर्वतयारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन् ।

    उनले विपद् व्यवस्थापनका लागि आवश्यक संयन्त्र कुनै व्यक्तिको उपस्थिति वा निर्णयमा मात्र निर्भर हुन नहुने बताए । आवश्यकताअनुसार स्वतः परिचालित हुन सक्ने प्रणाली निर्माण गर्न सके भविष्यमा उत्पन्न हुने विपद्का चुनौती सामना गर्न सहज हुने उनको भनाइ थियो ।

    श्रेष्ठले विपद्सम्बन्धी नीति निर्माण गर्दा वैज्ञानिक अध्ययन, अनुसन्धान र उपलब्ध तथ्यांकलाई आधार बनाउनुपर्ने बताए । दृश्यमा आधारित अनुगमन प्रणाली विकास भए पनि त्यसलाई थप प्रभावकारी बनाउन तथ्यांकको आदानप्रदान र कृत्रिम बौद्धिकता (एआई) को प्रयोग आवश्यक रहेको उनले उल्लेख गरे । यसबाट सम्भावित जोखिम र विपद्का घटनाको ढाँचा पहिचान गरी पूर्वतयारीलाई बलियो बनाउन सकिने उनको भनाइ छ ।

    नेपालमा भूकम्प, मनसुनी बाढी, हिमताल विस्फोट तथा पहिरोका कारण नदी थुनिएर आउने आकस्मिक बाढीलगायत फरक प्रकृतिका विपद्को जोखिम रहेकाले सबैका लागि एउटै प्रकारको तयारी पर्याप्त नहुने मन्त्री श्रेष्ठले बताए । विपद्को प्रकृतिअनुसार उद्धार तथा राहतका सामग्री, उपकरण र आवश्यक स्रोतसाधनको व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।

    पछिल्लो समय बाढीको स्वरूपमा देखिएका परिवर्तनप्रति सचेत रहनुपर्ने उल्लेख गर्दै उनले माथिल्लो तटीय क्षेत्रमा पानी थुनिने वा अन्य अवरोधका कारण नदीको बहाव अचानक परिवर्तन हुन सक्ने बताए । यस्तो अवस्थामा तल्लो तटीय क्षेत्रमा जोखिमको पूर्वानुमान, निगरानी र पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।

    उनले भूकम्पीय गतिविधिसम्बन्धी वैज्ञानिक अध्ययनका निष्कर्षलाई समेत नीतिनिर्माणसँग जोड्नुपर्ने बताए । बदलिँदो जोखिमलाई ध्यानमा राखेर पूर्वतयारीलाई निरन्तरता दिनुका साथै विपद्पछिको उद्धार, राहत र पुनःस्थापनाको कार्यलाई पनि व्यवस्थित बनाउनुपर्ने उनले उल्लेख गरे ।

    विपद्ले भौतिक क्षतिसँगै प्रभावित परिवारमा मानसिक आघातसमेत सिर्जना गर्ने भएकाले मानसिक स्वास्थ्यलाई विपद् व्यवस्थापनको समग्र कार्यढाँचामा समेट्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ थियो । विशेषगरी बालबालिकामा डर र त्रास तथा प्रभावित व्यक्तिमा पोस्ट ट्रमासम्बन्धी समस्या देखिन सक्ने भएकाले मानसिक स्वास्थ्य संरक्षणलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

    आगामी दिनमा भौतिक पूर्वाधार निर्माण गर्दा वैज्ञानिक तथ्य र प्राविधिक अध्ययनसँगै परम्परागत रैथाने ज्ञानलाई समेत समेट्नुपर्नेमा जोड दिँदै श्रेष्ठले विपद् उत्थानशील समाज निर्माणका लागि पूर्वतयारी, प्रभावकारी अनुगमन र बलियो संस्थागत संयन्त्र आवश्यक रहेको बताए ।