रसुवा बाढीबाट पाठ सिक्दै विपद्मैत्री कानुन र सुरक्षित पूर्वाधार बनाउने मन्त्री गौतमको प्रतिबद्धता - Chaitanya News
  • 2026-10-13
  • 14:41:15
  • मंगलबार,आश्विन २७, २०८३
  • रसुवा बाढीबाट पाठ सिक्दै विपद्मैत्री कानुन र सुरक्षित पूर्वाधार बनाउने मन्त्री गौतमको प्रतिबद्धता

    रसुवा बाढीबाट पाठ सिक्दै विपद्मैत्री कानुन र सुरक्षित पूर्वाधार बनाउने मन्त्री गौतमको प्रतिबद्धता

    काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न विद्यमान कानुन परिमार्जन गर्दै भूगोलअनुकूल र सुरक्षित पूर्वाधार निर्माणमा जोड दिएकी छन् ।

    ललितपुरमा अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा आयोजित पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले रसुवामा आएको बाढीले विपद् जोखिमसम्बन्धी विज्ञका चेतावनीलाई बेवास्ता गर्न नहुने पाठ सिकाएको बताइन् ।

    उनका अनुसार विपद् प्राकृतिक प्रक्रिया भए पनि त्यसबाट हुने क्षतिको मात्रा मानवीय निर्णय, कानुन, नीति र पूर्वाधारको संरचनामा निर्भर हुन्छ । नदी करिडोरमा रहेका संरचना सुरक्षित स्थानमा निर्माण गरिएको भए रसुवाको बाढीबाट हुने क्षति कम गर्न सकिने उनको भनाइ थियो ।

    मन्त्री गौतमले वैज्ञानिक तथ्य, तथ्यांक र विज्ञका सुझावका आधारमा कानुन तथा नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिन् । नेपालको भौगोलिक अवस्था र जलवायु परिवर्तनले बढाएको जोखिमलाई ध्यानमा राखेर विकासको ढाँचा परिवर्तन गर्नुपर्नेमा उनले जोड दिइन् ।

    रसुवाको बाढीपछि उद्धार, राहत र शव व्यवस्थापनमा सरकारले विभिन्न चुनौती सामना गर्नुपरेको उल्लेख गर्दै उनले पर्याप्त शीतभण्डारको अभावमा शव व्यवस्थापनसम्बन्धी निर्णय लिन कठिन भएको बताइन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मार्गदर्शनका आधारमा मन्त्रिपरिषद्ले निर्णय गरी शवलाई सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्ने कानुनी व्यवस्था गरिएको उनले जानकारी दिइन् ।

    विपद्का कारण हराएका व्यक्तिको कानुनी घोषणा, सम्पत्ति, पारिवारिक सम्बन्ध र अन्य अधिकारमा उत्पन्न हुने जटिलता सम्बोधन गर्न पनि कानुन परिमार्जन गरिने मन्त्री गौतमले बताइन् ।

    विपद्पछि मात्रै प्रतिक्रिया दिनेभन्दा जोखिम न्यूनीकरणलाई विकासको प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै उनले सुरक्षित पूर्वाधार र प्रभावकारी कानुनी व्यवस्थामार्फत भविष्यमा हुने क्षति कम गर्नुपर्नेमा जोड दिइन् ।