इजरायलमा नेपाली श्रमिकका समस्या ३० दिनभित्र सम्बोधन गर्ने कर्णको योजना - Chaitanya News
  • 2026-10-13
  • 14:02:14
  • मंगलबार,आश्विन २७, २०८३
  • इजरायलमा नेपाली श्रमिकका समस्या ३० दिनभित्र सम्बोधन गर्ने कर्णको योजना

    इजरायलमा नेपाली श्रमिकका समस्या ३० दिनभित्र सम्बोधन गर्ने कर्णको योजना

    काठमाडौँ– इजरायलका लागि प्रस्तावित नेपाली राजदूत सुरेशकुमार कर्णले त्यहाँ कार्यरत नेपाली श्रमिकका समस्या समाधान, श्रम लागत न्यूनीकरण र प्रविधिमैत्री कन्सुलर सेवा प्रवाहलाई प्राथमिकतामा राखेका छन् ।

    मंगलबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले नेपाली श्रमिकका गुनासा ३० दिनभित्र सम्बोधन गर्ने वा सम्बन्धित निकायमा पठाउने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    कर्णले इजरायलमा पछिल्लो एक दशकदेखि रोकिएको उच्चस्तरीय भ्रमण अघि बढाउन पदभार ग्रहण गरेको १२० दिनभित्र पहल गर्ने योजना सुनाए । नेपाल र इजरायलबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको उल्लेख गर्दै उनले द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने बताए ।

    इजरायलमा आधिकारिक रूपमा करिब ५ हजार ५०० नेपाली रहेको तथ्याङ्क प्रस्तुत गर्दै उनले घरमा आधारित हेरचाह सेवा र कृषि श्रमिकसम्बन्धी प्रोटोकल कार्यान्वयनका लागि पहल गर्ने बताए । श्रमिकको आर्थिक भार घटाउन तथा बैंकमार्फत सहज किस्ताबन्दीमा कर्जा उपलब्ध गराउने विषयमा पहिलो १०० दिनभित्र सम्बन्धित निकायसँग छलफल गर्ने उनको योजना छ ।

    त्यस्तै, इजरायलमा रहेका नेपालीको विवरण, रोजगारी र कानुनी अवस्थाको अभिलेख राख्न तथा गुनासा व्यवस्थापन गर्न कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित प्रणाली सञ्चालनमा ल्याउने उनले बताए ।

    कर्णले नेपालको सन्तुलित परराष्ट्र नीतिअनुसार इजरायल र अरब राष्ट्रहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्दै दुई–राज्य समाधानको पक्षमा नेपालको नीतिलाई निरन्तरता दिने उल्लेख गरे । सन् २०२७ देखि नेपाली डायस्पोरासँग नियमित संवाद र सहकार्यका कार्यक्रम सञ्चालन गर्ने उनको दीर्घकालीन योजना छ ।

    उनको कार्ययोजना कूटनीतिक सम्बन्ध विस्तार, नेपाली डायस्पोरासँगको सहकार्य, आर्थिक कूटनीति तथा प्रविधि र साइबर सुरक्षामा केन्द्रित छ ।