धनगढीको जेन्जी मार्गमा डिजिटल बोर्ड दैनिक ३ घण्टा सञ्चालन हुने - Chaitanya News
  • 2026-10-13
  • 11:49:27
  • मंगलबार,आश्विन २७, २०८३
  • धनगढीको जेन्जी मार्गमा डिजिटल बोर्ड दैनिक ३ घण्टा सञ्चालन हुने

    धनगढीको जेन्जी मार्गमा डिजिटल बोर्ड दैनिक ३ घण्टा सञ्चालन हुने

    धनगढीः धनगढी उपमहानगरपालिका–१ स्थित जेन्जी मार्ग (पार्क अगाडि) मा जडान गरिएको डिजिटल बोर्ड दैनिक तीन घण्टा सञ्चालनमा आउने भएको छ।

    धनगढी उपमहानगरपालिकाले जडान गरेको उक्त डिजिटल बोर्ड प्रत्येक दिन साँझ ६ बजेदेखि राति ९ बजेसम्म सञ्चालन गरिने जनाएको छ।

    डिजिटल बोर्डमार्फत सुदूरपश्चिम प्रदेशको पहिचान झल्काउनुका साथै यहाँका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा आर्थिक क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।

    धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले प्राकृतिक तथा धार्मिक सम्पदाको समुचित उपयोगबाट मात्रै प्रदेशलाई समृद्ध बनाउन सकिने बताएका छन्। यसका लागि सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिँदै उनले डिजिटल बोर्डमा सुदूरपश्चिमका सम्भावना र विशेषताहरू प्रस्तुत गरिने जानकारी दिएका छन्।

    नगर प्रमुख हमालले सुदूरपश्चिम प्रदेशका सबै ८८ वटै स्थानीय तहलाई आफ्ना असल अभ्यास तथा उपलब्धिका विवरण उपलब्ध गराउनसमेत आग्रह गरेका छन्। स्थानीय तहले गरेका राम्रा काम र हासिल गरेका उपलब्धिलाई डिजिटल बोर्डमार्फत प्रचारप्रसार गर्न सकिने उनको भनाइ छ।

    उक्त डिजिटल बोर्डमा सुदूरपश्चिमका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरूका साथै धनगढी उपमहानगरपालिकाका रचनात्मक कार्यक्रम, ट्राफिकसम्बन्धी जानकारी र जनचेतनामूलक सामग्री प्रदर्शन गरिनेछ।

    समृद्ध, सुन्दर र आधुनिक धनगढी निर्माण गर्ने लक्ष्यसहित उपमहानगरपालिकाले डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको जनाएको छ।