दशैँको रौनक गाउँतिर, २४ घण्टामै ५६ हजारभन्दा बढीले छाडे उपत्यका - Chaitanya News
  • 2026-10-13
  • 10:19:41
  • मंगलबार,आश्विन २७, २०८३
  • दशैँको रौनक गाउँतिर, २४ घण्टामै ५६ हजारभन्दा बढीले छाडे उपत्यका

    दशैँको रौनक गाउँतिर, २४ घण्टामै ५६ हजारभन्दा बढीले छाडे उपत्यका

    काठमाडौँ– बडादशैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढेको छ। परिवार र आफन्तसँग दशैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम घर फर्किन थालेका छन्। पछिल्लो २४ घण्टामा मात्रै ५६ हजार ८०९ जना यात्रुले काठमाडौँ उपत्यका छाडेका छन्।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार बिहानदेखि मंगलबार बिहानसम्मको अवधिमा विभिन्न नाका हुँदै उक्त सङ्ख्यामा यात्रु बाहिरिएका हुन्। दशैँ नजिकिँदै गर्दा लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चाप बढ्दै गएको उनले जानकारी दिए।

    उपत्यकाबाट बाहिरिने यात्रुको सबैभन्दा ठूलो चाप नागढुङ्गा र भक्तपुर नाकामा देखिएको छ। नागढुङ्गा नाका हुँदै २७ हजार ६४९ जना बाहिरिएका छन् भने भक्तपुर नाकाबाट २० हजार ६१५ जना बाहिरिएका छन्।

    त्यस्तै, फर्पिङ नाकाबाट पाँच हजार ५१०, तीनपिप्ले नाकाबाट ९७२, भट्टेडाँडा नाकाबाट ८८६, साँखु नाकाबाट ६०८, भीमढुङ्गा नाकाबाट ५१३ र थानकोट नाकाबाट ५६ जना बाहिरिएका छन्।

    दशैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै सार्वजनिक यातायात व्यवस्थापनमा चुनौती थपिएको छ। सडकको अवस्थाका कारण सवारीसाधन समयमा गन्तव्यमा पुग्न नसक्दा यात्रु ओसारपसार प्रभावित भएको यातायात व्यवसायीले बताएका छन्।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले विभिन्न राष्ट्रिय राजमार्गको खराब अवस्थाले सवारीसाधन सञ्चालन र व्यवस्थापनमा समस्या परेको बताए।

    उनका अनुसार अग्रिम बस टिकट बुकिङ खुला भएको दिन असोज २३ गते धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर यातायात आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमै रोकिएका थिए। त्यसको असरले सवारीसाधनको व्यवस्थापनमा थप कठिनाइ भएको उनले बताए।

    दशैँमा यात्रुको चाप बढिरहेका बेला सडक अवरुद्ध हुने तथा सवारीसाधन समयमा गन्तव्यमा पुग्न नसक्ने समस्याले यात्रुलाई समेत सास्ती हुने देखिएको छ।

    यात्रुको चापलाई ध्यानमा राख्दै महासङ्घले टिकट काटेर मात्रै यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ।

    दशैँ परिवार, आफन्त र समुदायसँग भेटघाट गर्ने प्रमुख चाड भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्नेहरू हरेक वर्ष यो समयमा गाउँ फर्किने गर्छन्। यस वर्ष पनि उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढेसँगै सडक तथा सार्वजनिक यातायात व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।