काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल खेल्न लागेको हो ।
अल अमेरतस्थित अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।
नेपालले आफ्नो पहिलो खेलमा क्यानडालाई पराजित गर्दै शृङ्खलामा विजयी सुरुवात गरेको थियो । यता, ओमानले पनि शुक्रबार भएको खेलमा क्यानडालाई नै हराएको थियो । दुवै टोलीले क्यानडाविरुद्ध जित निकालेकाले आजको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
यद्यपि, ओमानले क्यानडामाथि जित निकालेसँगै लिग–२ को शीर्ष चारमा रहेर विश्वकप छनोटको सम्भावना कायम राख्ने नेपालको लक्ष्य समाप्त भएको छ । अब नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता (ओडीआई स्टाटस) जोगाउनु मुख्य चुनौती बनेको छ ।
लिग–२ को अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंक जोड्दै छैटौँ स्थानमा रहेको छ । क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौँ स्थानमा झरेको छ भने ओमान २९ खेलबाट ३३ अंक जोडेर तालिकाको माथिल्लो स्थानमा छ ।
शीर्ष चारको दौडबाट बाहिरिएपछि नेपालका लागि बाँकी खेलमा अंक जोड्नु झनै महत्त्वपूर्ण बनेको छ । त्यसैले आज ओमानविरुद्धको खेल नेपालका लागि जितको खोजी मात्र नभई ओडीआई मान्यता सुरक्षित गर्ने यात्रामा पनि महत्त्वपूर्ण हुनेछ ।