चीनसँगको व्यापार घाटा घटाउन नेपाली उत्पादनको बजार विस्तारमा जोड - Chaitanya News
  • 2026-10-13
  • 23:16:52
  • मंगलबार,आश्विन २७, २०८३
  • चीनसँगको व्यापार घाटा घटाउन नेपाली उत्पादनको बजार विस्तारमा जोड

    चीनसँगको व्यापार घाटा घटाउन नेपाली उत्पादनको बजार विस्तारमा जोड

    काठमाडौँ– चीनसँगको बढ्दो व्यापार घाटा न्यूनीकरण गर्दै नेपाली उत्पादनलाई चिनियाँ बजारमा स्थापित गर्ने लक्ष्यसहित चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्ने बताएका छन् । उनले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनबाट नेपालले अधिकतम आर्थिक लाभ लिन निर्यात प्रवर्द्धन, वैदेशिक लगानी र पर्यटन विकासमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

    सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै शर्माले नेपाल–चीन सम्बन्धलाई राजनीतिक विश्वासमा मात्र सीमित नराखी आर्थिक तथा विकास साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए । उनका अनुसार दुई देशबीचको सम्बन्ध थप घनिष्ठ बनाउँदै नेपालको आर्थिक विकासमा चीनको सम्भावना उपयोग गर्न आवश्यक छ ।

    शर्माले नेपालको संविधान, पञ्चशीलको सिद्धान्त, असंलग्न परराष्ट्र नीति र ‘एक चीन सिद्धान्त’प्रतिको प्रतिबद्धता दोहोर्‍याउँदै नेपाली भूमि कुनै पनि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिने नेपालको नीतिलाई निरन्तरता दिने स्पष्ट पारे ।

    नेपाल र चीनबीचको व्यापार असन्तुलन कम गर्न नेपाली उत्पादनको निर्यात बढाउनुपर्ने उनको भनाइ छ । यसका लागि गुणस्तर मापन प्रणाली (मल्टिफङ्क्सन क्वालिटी टेस्ट मेसिन) सञ्चालन गरी नेपाली कृषि उपज, जडीबुटी, गलैँचा तथा हस्तकलाका सामग्रीलाई चिनियाँ बजारसम्म पुर्‍याउन पहल गर्ने उनले बताए ।

    नेपाली उत्पादनको निर्यातबाट अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउन सकिने उदाहरण दिँदै शर्माले थाइल्याण्डले डुरियन फल मात्रै चीनमा वार्षिक चार अर्ब अमेरिकी डलर बराबरको निर्यात गर्ने गरेको उल्लेख गरे । नेपालले पनि आफ्ना मौलिक उत्पादनको व्यावसायिक उत्पादन, गुणस्तर सुधार र बजार विस्तारमा ध्यान दिन सके निर्यात बढाउन सक्ने उनको तर्क छ ।

    त्यस्तै, चीनबाट नेपालमा हालसम्म करिब पाँच सय परियोजनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको जानकारी दिँदै उनले उत्पादनमूलक उद्योग, जलविद्युत्, पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी भित्र्याउन नेपाली दूतावासले सहजीकरण गर्ने बताए । लगानीमैत्री वातावरण निर्माण र नेपालमा उपलब्ध सम्भावनाबारे चिनियाँ लगानीकर्तालाई जानकारी गराउनु पनि आफ्नो कार्ययोजनाको महत्त्वपूर्ण पक्ष रहेको उनले उल्लेख गरे ।

    पर्यटन क्षेत्रको आम्दानी बढाउन पनि नयाँ पहल आवश्यक रहेको शर्माको भनाइ छ । नेपाल आउने चिनियाँ पर्यटकको औसत खर्च ५४१ अमेरिकी डलर मात्र रहेको तथ्यांक प्रस्तुत गर्दै उनले पर्यटकको बसाइ अवधि र खर्च बढाउने गरी आकर्षक पर्यटकीय उत्पादन तथा प्याकेज विकास गर्नुपर्ने बताए । नेपाललाई चिनियाँ पर्यटकका लागि थप आकर्षक गन्तव्य बनाउन पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई प्रभावकारी बनाउने उनको योजना छ ।

    यसका साथै बेइजिङ र काठमाडौंबीच सीधा हवाई सम्पर्क स्थापना गर्न पहल गर्ने शर्माले बताएका छन् । उनले हङकङ, ल्हासा, छेन्दु र ग्वाङझौस्थित नेपाली नियोगहरूबीच साझा कार्ययोजना बनाएर पर्यटन प्रवर्द्धन, लगानी आकर्षण र नेपाली उत्पादनको बजार विस्तारमा समन्वय गर्ने प्रस्ताव पनि अघि सारेका छन् ।

    शर्माको कार्ययोजनाले नेपाल–चीन सम्बन्धलाई आर्थिक लाभसँग जोड्दै व्यापार घाटा घटाउने, निर्यात बढाउने र विदेशी लगानी भित्र्याउने विषयलाई प्राथमिकतामा राखेको छ । चिनियाँ बजारमा नेपाली उत्पादनको पहुँच विस्तार र पर्यटनबाट हुने आम्दानी वृद्धि गर्न सके द्विपक्षीय सम्बन्धबाट नेपालले थप आर्थिक लाभ लिन सक्ने उनको अपेक्षा छ ।