काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी सेवामा नैतिकता, निष्ठा, इमानदारी र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएका छन्। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले कुनै पनि पेसागत सफलताको आधार नैतिक आचरण र इमानदारी भएको बताएका हुन्।
प्रधानमन्त्री शाहले प्रहरी निरीक्षकहरूलाई तालिममा सिकेका ज्ञान र सीप व्यवहारमा उतार्दै संविधान, कानुन, नियम र कार्यविधिको पूर्ण पालना गर्न आग्रह गरे। प्रहरी सेवामा अनुशासन कायम राख्नुका साथै जिम्मेवारीप्रति जवाफदेही हुनुपर्नेमा उनले जोड दिए।
उनले शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र नागरिकका अधिकार तथा स्वतन्त्रताको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेको उल्लेख गरे। जिम्मेवारी निर्वाह गर्दा कुनै पनि अनुचित प्रभावमा नपरी निष्पक्ष रूपमा काम गर्न उनले निर्देशन दिए।
प्रहरी अनुसन्धानलाई प्रभावकारी बनाउन सूचना प्रविधिको सदुपयोग आवश्यक रहेको बताउँदै प्रधानमन्त्री शाहले तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री अनुसन्धानमा जोड दिए। प्रविधिको प्रयोगले अपराध अनुसन्धान छिटो, सहज र पारदर्शी बनाउनुका साथै घटनाको समयमै नियन्त्रण गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
सरकारले प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले संगठनभित्र सहकार्य, अनुशासन र नागरिकमैत्री कार्यशैली अपनाउन आग्रह गरे। समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए। प्रधानमन्त्री शाहले दीक्षित अधिकृतहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे भने प्रहरी सेवामा सहयोग गर्ने परिवारजनप्रति आभार प्रकट गरे।