नवरात्रको पाँचौँ दिनः स्कन्दमाताको पूजा आराधना गरिँदै - Chaitanya News
  • 2026-10-15
  • 07:59:26
  • बिहिबार,आश्विन २९, २०८३
  • नवरात्रको पाँचौँ दिनः स्कन्दमाताको पूजा आराधना गरिँदै

    नवरात्रको पाँचौँ दिनः स्कन्दमाताको पूजा आराधना गरिँदै

    काठमाडौँ– बडादसैँअन्तर्गत नवरात्रको पाँचौँ दिन आज नवदुर्गामध्येकी पाँचौँ स्वरूप माता स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ। आश्विन शुक्ल पञ्चमीका दिन घरघरका दसैँघर तथा पूजा कोठामा स्कन्दमाताको पूजा गरी भक्तजनले शक्ति, ऐश्वर्य, विद्या र पारिवारिक सुखशान्तिको कामना गरिरहेका छन्।

    नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा देवीको दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको चहलपहल बढेको छ। राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा रहेका शक्तिपीठमा बिहानैदेखि श्रद्धालुको भीड लागेको छ। धार्मिक विश्वासअनुसार नवरात्रमा देवीको पूजा आराधना तथा दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुनुका साथै सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ।

    वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीका नौ स्वरूपको विशेष पूजा आराधना गर्छन्। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा विभिन्न देवी स्तोत्र पाठ गर्ने परम्परा छ। भक्तजनले विधिपूर्वक पूजा, पाठ र आराधना गरी देवीप्रति श्रद्धा व्यक्त गर्छन्।

    नवदुर्गाको पूजा क्रमअनुसार पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाताको आराधना गरिन्छ। त्यसैगरी छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक परम्परा छ। यी नौ स्वरूपलाई समग्रमा नवदुर्गा भनिन्छ।

    नवरात्रमा देवीका फरक–फरक स्वरूपको पूजा गर्नुको धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको छ। भक्तजनले दुर्गा देवीको आराधनामार्फत शक्ति, ज्ञान, ऐश्वर्य र कल्याणको कामना गर्छन्। विशेषगरी शक्तिपीठमा पुगेर दर्शन तथा पूजा गर्नाले पारिवारिक सुखशान्ति प्राप्त हुने र मनोकामना पूरा हुने विश्वास रहिआएको छ।

    नवरात्रको नौ दिनसम्म पूजा आराधना गरेपछि प्राप्त प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने परम्परा छ। यसरी विजयादशमीसहित पूर्णिमासम्मको १५ दिनलाई नेपाली समाजमा बडादसैँका रूपमा मनाइन्छ। दसैँले धार्मिक आस्था र सांस्कृतिक परम्परालाई निरन्तरता दिनुका साथै परिवार तथा आफन्तबीच भेटघाट र आत्मीयता बढाउने अवसरसमेत प्रदान गर्छ।