धनगढी– लिग चरणका सम्पूर्ण खेलहरू सम्पन्न भएसँगै चैतन्य पाठशालामा जारी फुटसल प्रतियोगिता क्वालिफायर चरणमा प्रवेश गरेको छ । प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा अहिले एलायन्स र सत्यवती एकेडेमीबीच प्रतिस्पर्धा भइरहेको छ ।
क्वालिफायर चरणअन्तर्गत पहिलो खेलमा समूह ‘ए’ को विजेता एलायन्सले सत्यवती एकेडेमीसँग प्रतिस्पर्धा गरिरहेको हो । दुवै टोली जित हासिल गर्दै फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् ।
त्यस्तै, क्वालिफायर–२ मा सीसीएस र मयुरबीच प्रतिस्पर्धा हुनेछ । क्वालिफायर–३ मा सुदूर भेदा र स्टेपिङ स्टोन आमनेसामने हुनेछन् भने क्वालिफायर–४ मा नास्ट र बालमिकीबीच खेल हुनेछ ।
क्वालिफायर चरणका खेलहरूले प्रतियोगितालाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ । लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेका टोलीहरू उपाधि यात्रालाई निरन्तरता दिन प्रतिस्पर्धा गरिरहेका छन् ।
कक्षाकोठामा सिकाइने अनुशासन, सहकार्य, सम्मान र सिकाइका मूल्यहरू खेलमैदानमा समेत व्यवहारमा उतार्न सकिने भएकाले शिक्षकहरूबीच आपसी सद्भाव, मित्रता र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित च्याम्पियनसिप ट्रफी, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुने टोलीलाई नगद २५ हजार रुपैयाँ, ट्रफी, रजत पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई जनही नगद ३ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ।