धनगढी: महिलामा रहेको ज्ञान, सीप र कलालाई उद्यमशीलतासँग जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले कैलालीको धनगढीमा शनिवारीय महिला उद्यम मेला पुनः सञ्चालनमा आएको छ। वर्षा र हावाहुरीका कारण केही समय रोकिएको मेला माग बढेसँगै असोज २४ गतेदेखि पुनः सुरु गरिएको हो।
धनगढी उपमहानगरपालिका–१ स्थित जेन्जी मार्गमा सञ्चालन हुने मेलाको उद्घाटन शनिबार एक कार्यक्रमका बीच धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला कुमारी रानाको उपस्थितिमा वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले गरेका हुन्।
घरायसी काममा सीमित महिलालाई बजारसँग जोड्ने, उनीहरूले उत्पादन गरेका वस्तुको बिक्रीवितरण गर्ने र आम्दानी बढाउने अवसर प्रदान गर्ने उद्देश्यले २०८१ सालदेखि मेला सञ्चालन हुँदै आएको छ। हाल मेलामा करिब ७० वटा स्टल राखिएका छन्।
शनिबार धेरैका लागि बिदा र फुर्सदको दिन भए पनि धनगढीका महिला उद्यमीका लागि भने यही दिन आफ्नो सीपलाई आम्दानीमा बदल्ने अवसर बनेको छ। मेलामा कोही रैथाने खानाका परिकार बनाउन व्यस्त देखिन्छन् भने कोही घरमै उत्पादन गरेका अचार, गेडागुडी तथा अन्य खाद्य सामग्री बिक्री गरिरहेका हुन्छन्।
धनगढी उपमहानगरपालिकाले व्यवस्थापन गर्दै आएको मेलाले महिला उद्यमीलाई आफ्ना उत्पादन उपभोक्तासम्म प्रत्यक्ष पुर्याउने र बजार विस्तार गर्ने अवसर दिएको धनगढी-३ की उद्यमी महिला रिता अवस्थीले बताइन्। उनले प्रत्येक शनिबार साँझ सञ्चालन हुने मेलामा बिदाको दिन पारेर सयौँ मानिस अवलोकन तथा किनमेलका लागि आउने अवसर मिलेको बताइन्।
व्यापारिक गतिविधिसँगै मेलामा बालबालिकाका लागि खेल सामग्री र सांस्कृतिक कार्यक्रमसमेत राखिएका छन्। नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीले सांस्कृतिक प्रस्तुतिमार्फत आफ्नो प्रतिभा देखाउने अवसर पाउँछन्। यसले मेलालाई व्यापारसँगै मनोरञ्जन र प्रतिभा प्रदर्शनको साझा थलोका रूपमा विकास गरेको छ।
मेलामा स्टल राखेर विभिन्न परिकार बिक्री गर्दै आएकी हेमा श्रेष्ठ विष्ट गत वर्षदेखि नै सहभागी हुँदै आएकी छन्। मेलाले आफ्ना उत्पादन ग्राहकसम्म पुर्याउन र व्यापार विस्तार गर्न सहयोग गरेको उनको अनुभव छ।
महिला उद्यमीका अनुसार मेलामा व्यापार गरेर प्रत्येक शनिबार तीन हजारदेखि ६ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ। घरमै बनाउँदै आएका खानेकुरा र अचारलाई व्यावसायिक रूपमा उत्पादन तथा बिक्री गर्ने सोच मेलामा सहभागी भएपछि थप बलियो बनेको धनगढी-५ जाईकी देउमती चौधरी बताउँछिन्।
वर्षा र हावाहुरीका कारण केही समय बन्द भएको मेला पुनः सञ्चालनमा आएको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताए।
महिला उद्यमीका उत्पादनको प्रचारप्रसार, बिक्रीवितरण र आम्दानी वृद्धिमा सहयोग पुर्याउँदै आएको शनिवारीय महिला उद्यम मेला महिलाका लागि बजार विस्तार गर्ने माध्यम बनेको छ। घरभित्र सीमित सीपलाई व्यवसायमा रूपान्तरण गर्न, उत्पादनको बजार खोज्न र नियमित आम्दानीको स्रोत बनाउन मेलाले अवसर प्रदान गरेको धनगढी-६ की पवित्रा चन्दले बताइन्।
यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै उत्पादनको गुणस्तर सुधार, बजार पहुँच विस्तार र व्यावसायिक सीप विकासमा समेत सहयोग गर्न सके महिला उद्यमशीलता प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक योगदान पुग्ने मेलामा भेटिएका स्थानीय भवानसिंह चौसिरले बताए।