धनगढीः सुदूरपश्चिम प्रदेशकै पहिलो पाँचतारे होटलका रूपमा धनगढीमा निर्माण भइरहेको क्लब चौलानी लिमिटेडले पहिलो चरणमा सेवा सञ्चालनमा ल्याएको छ। करिब तीन अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको होटलले पहिलो चरणमा २७ वटा कोठासहितका सेवा सञ्चालनमा ल्याएको हो।
क्लब चौलानीका प्रबन्ध निर्देशक मानसिंह साउँदका अनुसार होटल पूर्ण क्षमतामा सञ्चालनमा आएपछि कुल ११५ वटा कोठा उपलब्ध हुनेछन्। हाल सञ्चालनमा रहेका कोठाको भाडादर प्रतिरात ६ हजारदेखि १२ हजार रुपैयाँसम्म निर्धारण गरिएको होटल व्यवस्थापनले जनाएको छ।
अन्तर्राष्ट्रिय होटल चेन इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आइएचजी) अन्तर्गतको होलिडे इन ब्रान्डसँग सहकार्य गरिएको होटलको पहिलो चरणमा रेस्टुरेन्ट, फिटनेस सेन्टर, कफी सप र पार्किङलगायतका सुविधा सञ्चालनमा ल्याइएको छ।
होटलको दोस्रो चरणमा प्रेसिडेन्सियल सुइटसहित थप ८५ वटा कोठा निर्माण गरिनेछ। यससँगै पौडी पोखरी, साउना, स्टीम, ज्याकुजी, स्पा, छतमा रेस्टुरेन्ट, कसिनो, करिब ७०० जना क्षमताको भोजभतेर हल तथा दिनभरि खाना उपलब्ध हुने रेस्टुरेन्टलगायतका सुविधा थप गर्ने योजना रहेको प्रबन्ध निर्देशक साउँदले बताए।
हाल होटलको दोस्रो चरणअन्तर्गतका निर्माण कार्य तीव्र गतिमा भइरहेका छन्। दोस्रो चरणको निर्माणसँगै होटलको आन्तरिक सजावट तथा डिजाइनमा सुदूरपश्चिमको कला, संस्कृति र मौलिक पहिचानलाई समेत समेट्ने तयारी भइरहेको साउँदले जानकारी दिए।
दोस्रो चरणको निर्माण सम्पन्न भएपछि होटल होलिडे इन आईएचजीको व्यवस्थापनमा पूर्ण क्षमताका साथ सञ्चालनमा आउने क्लब चौलानीले जनाएको छ।
अन्तर्राष्ट्रिय होटल ब्रान्डको व्यवस्थापनमा पाँचतारे होटल सञ्चालनमा आएपछि सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सञ्चालकको विश्वास छ। यसले प्रदेशमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई स्तरीय आतिथ्य सेवा उपलब्ध गराउनुका साथै धनगढीलाई पर्यटन तथा व्यावसायिक गतिविधिको थप महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।