धनगढी: बुद्ध एयरले धनगढीका लागि एकतर्फी हवाई टिकट १० हजार ८ सय रुपैयाँमै उपलब्ध गराउँदै आएको जनाएको छ।
बुद्ध एयरले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत न्यूनतम भाडादरमै टिकट उपलब्ध गराइरहेको जनाएको हो। कम्पनीका अनुसार उक्त भाडादरमा अधिकांश दिनका उडानका टिकट बिक्री भइरहेका छन्।
कम्पनीले आफ्नो आधिकारिक प्रणाली तथा बिक्री माध्यमबाट कायम गरिएको भाडादरभन्दा बढी मूल्यमा टिकट बिक्री गर्ने व्यक्ति, ट्राभल एजेन्सी वा अन्य माध्यम फेला परेमा प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको छ।
बुद्ध एयरले यात्रुलाई सामाजिक सञ्जाल वा अन्य अनधिकृत माध्यमबाट फैलाइएका भ्रामक सूचनाका आधारमा हवाई भाडासम्बन्धी धारणा नबनाउन आग्रह गरेको छ।
कम्पनीले टिकट तथा भाडासम्बन्धी जानकारीका लागि आफ्नो आधिकारिक वेबसाइट, मोबाइल एप तथा आधिकारिक बिक्री माध्यमबाट मात्रै जानकारी लिन यात्रुलाई अनुरोध गरेको छ।