काठमाडौँ– नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पुरुष एकदिवसीय विश्व वरियतामा एक स्थान सुधार गरेको छ। आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १६औँ स्थानमा पुगेको हो।
नेपालले ३३ खेलबाट ९३९ अंक जोड्दै २८ रेटिङ पाएको छ। यसअघि १७औँ स्थानमा रहेको नेपालले नयाँ वरियतामा एक स्थान माथि उक्लिँदै अमेरिका र नामिबियाबीच आफ्नो स्थान बनाएको छ।
नयाँ वरियतामा अमेरिकाले १५औँ स्थान ओगटेको छ भने नेपालभन्दा एक स्थान तल नामिबिया १७औँ स्थानमा रहेको छ।
एकदिवसीय विश्व वरियताको शीर्ष स्थानमा भारत कायमै छ। न्यूजिल्याण्ड दोस्रो तथा दक्षिण अफ्रिका तेस्रो स्थानमा छन्। यस्तै अस्ट्रेलिया चौथो र पाकिस्तान पाँचौँ स्थानमा रहेका छन्।
नेपालको नयाँ वरियता पछिल्लो समय एकदिवसीय क्रिकेटमा हासिल गरेको प्रदर्शन र प्राप्त अंकका आधारमा तय भएको हो।