काठमाडौँ– दसैँको समयमा यात्रुबाट सरकारले तोकेकोभन्दा बढी भाडा असुल गर्ने सवारीसाधनमाथि कारबाही हुने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित यातायात सेवा उपलब्ध गराउन व्यवसायी तथा कर्मचारीलाई निर्देशन दिएको छ।
महासंघका महासचिव डेकनाथ गौतमले तोकिएको भाडाभन्दा बढी रकम असुल गर्ने सवारीसाधनलाई कारबाही गरिने बताएका छन्। सरकारले दसैँलाई लक्षित गर्दै यही असोज २३ गतेदेखि देशभर यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ।
यातायात व्यवस्था विभाग, महासंघ, मजदुर संघ–संगठन, प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयबीचको समन्वयमा अग्रिम टिकट बुकिङ तथा यात्रु व्यवस्थापनको तयारी गरिएको हो। महासंघले सातै प्रदेश, जिल्ला समिति, सदस्य संघ–संस्था तथा गोंगबु बसपार्कमा कार्यरत शाखा प्रमुख र कर्मचारीलाई आवश्यक निर्देशन दिएको जनाएको छ।
अग्रिम टिकट काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोसाक र परिचयपत्र अनिवार्य लगाउनुपर्नेछ। यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराउन तथा सुरक्षित यात्राको व्यवस्था मिलाउन महासंघले निर्देशन दिएको छ।
दसैँको भीड व्यवस्थापनका लागि असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौँ सडकखण्डमा ट्रेलरलगायत ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ। खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनमा भने यस्तो रोक लागू हुने छैन।
यात्रुवाहक सवारीसाधनका लागि घटस्थापनादेखि कात्तिक १० गतेसम्म देशभर लामो तथा मध्यम रुट परमिट खुला गरिएको छ। सडकको विशेष अवस्थाका कारण निश्चित आकार–प्रकारका सार्वजनिक सवारीसाधनमा लगाइएको प्रतिबन्ध भने कायम रहने महासंघले जनाएको छ।
यात्रु सहायता कक्षको अनुगमन तथा सहजीकरणका लागि यातायात व्यवस्था विभागले फोकल पर्सनसहितको टोली परिचालन गर्नेछ। महासंघले गोंगबु बसपार्क, कलंकी, कोटेश्वर, गौशाला र चाबहिल क्षेत्रमा समेत जिम्मेवारी तोकेको छ।
यसैगरी, यात्रुवाहक सवारीसाधनको फिटनेस परीक्षणलाई प्राथमिकता दिइएको छ। यातायात व्यवस्था विभागको सवारी परीक्षण कार्यालय टेकुबाट प्राविधिक कर्मचारी खटाई गोंगबु बसपार्कमै निःशुल्क फिटनेस परीक्षणको व्यवस्था मिलाइने महासंघले जनाएको छ।