धनगढी: दुग्ध विकास संस्थान (डिडिसी) र नेपाली सेनाबीच दैनिक १० हजार २५१ लिटर दूध खपत गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार नेपाली सेनाका ३२ वटा जिल्लामा रहेका ब्यारेकमा डिडिसीले उत्पादन तथा प्रशोधन गरेको दूध नियमित रूपमा आपूर्ति तथा खपत हुने भएको छ। यस सम्झौताले डिडिसीको उत्पादनको बिक्री सुनिश्चित हुनुका साथै आगामी दिनमा किसानबाट थप दूध संकलन गर्ने बाटोसमेत खुलेको छ।
दूधसँगै नेपाली सेनाले डिडिसीबाट दैनिक ३६५ लिटर दही, ३७ किलो पनिर र १५ किलो चिजसमेत खरिद तथा खपत गर्ने सम्झौता भएको छ।
सम्झौतामा नेपाली सेनाको तर्फबाट आपूर्ति तथा परिवहन निर्देशनालयमा कार्यरत रथी संजयकुमार रञ्जित र डिडिसीका तर्फबाट महाप्रबन्धक डाक्टर शरणकुमार पाण्डेले हस्ताक्षर गरेका छन्।
सम्झौताले डिडिसीका दुग्ध तथा दुग्धजन्य उत्पादनको बजार विस्तारसँगै दूध उत्पादक किसानबाट थप दूध संकलन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
किसानबाट नियमित रूपमा दूध संकलन हुने र त्यसको बजार सुनिश्चित हुने भएपछि दुग्ध क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।