८१ दिनपछि सुदूरपश्चिमले आज पाउँदैछ बजेट, साँझ ५ बजे प्रदेशसभामा प्रस्तुत हुँदै - Chaitanya News
  • 2026-10-07
  • 14:17:28
  • बुधबार,आश्विन २१, २०८३
  • ८१ दिनपछि सुदूरपश्चिमले आज पाउँदैछ बजेट, साँझ ५ बजे प्रदेशसभामा प्रस्तुत हुँदै

    ८१ दिनपछि सुदूरपश्चिमले आज पाउँदैछ बजेट, साँझ ५ बजे प्रदेशसभामा प्रस्तुत हुँदै

    धनगढीः आर्थिक वर्ष सुरु भएको ८१ दिनपछि सुदूरपश्चिम प्रदेश सरकारले आज चालु आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्ने भएको छ।

    प्रदेश सरकारले आज साँझ ५ बजे प्रदेशसभामा बजेट प्रस्तुत गर्न लागेको हो। मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले साँझ ५ बजे बजेट प्रस्तुत गर्ने गरी प्रदेशसभा बैठक आह्वान गर्ने निर्णय गरेको थियो।

    सभामुख भीमबहादुर भण्डारीले बजेट प्रस्तुत गर्नका लागि प्रदेशसभा बैठक आह्वान गरिएको जानकारी दिए।

    बजेट प्रस्तुत भएर पारित भएपछि लामो समयदेखि सुदूरपश्चिमले भोग्दै आएको बजेट शून्यताको संकट अन्त्य हुनेछ।

    गत असार १ गते तत्कालीन प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो। तर, बजेटको विषयलाई लिएर सत्तारुढ दलभित्रै विवाद चर्किएपछि उक्त बजेट प्रदेशसभाबाट पारित हुन सकेन।

    बजेट विवादकै कारण काँग्रेस नेतृत्वको तत्कालीन सरकार परिवर्तन भएको थियो। सरकार परिवर्तन भए पनि बजेटको गाँठो तत्काल फुक्न नसक्दा साउन १ गतेदेखि प्रदेश सरकार बजेटविहीन अवस्थामा पुगेको थियो।

    बजेटविहीन हुँदा प्रदेश सरकारका नियमित प्रशासनिक खर्चदेखि विकास निर्माणका कामसमेत प्रभावित भएका थिए। सरकारी कार्यालय सञ्चालनमा समेत समस्या देखिन थालेको थियो।

    बजेट अभावकै कारण प्रदेश सरकारअन्तर्गतका कर्मचारीले समेत लामो समयदेखि तलब पाउन सकेका छैनन्। बजेट पारित भएपछि प्रदेश सरकारका नियमित कामकाज सञ्चालनसँगै रोकिएका विकास निर्माणका काम अघि बढ्ने अपेक्षा गरिएको छ।