कैलालीमा धान भित्र्याउने बेला भारी वर्षा, किसान चिन्तित - Chaitanya News
  • 2026-10-07
  • 13:50:32
  • बुधबार,आश्विन २१, २०८३
  • कैलालीमा धान भित्र्याउने बेला भारी वर्षा, किसान चिन्तित

    कैलालीमा धान भित्र्याउने बेला भारी वर्षा, किसान चिन्तित

    धनगढी: धान भित्र्याउने मुख्य समय सुरु भएका बेला कैलालीमा भएको भारी वर्षाले किसानलाई चिन्तित बनाएको छ। काट्न तयार भएको धान खेतमै रहेको तथा कतिपय किसानले काटेर खेतमा सुकाउन राखेको अवस्थामा वर्षा भएपछि धानबालीमा क्षति पुग्ने जोखिम बढेको हो।

    केही दिनयता कैलालीका विभिन्न क्षेत्रमा किसान धान काट्ने र भित्र्याउने काममा व्यस्त छन्। यही समयमा लगातार वर्षा हुँदा काटेको धान भिज्ने, खेतमै ढल्ने तथा लामो समयसम्म खेतमा पानी जम्दा धानको गुणस्तरमा समेत असर पर्ने कृषि ज्ञान केन्द्र धनगढीका सूचना अधिकारी टेकबहादुर विष्टले जानकारी दिए।

    कैलालीमा सोमबार रातिदेखि भएको वर्षाका कारण खेतमा काटेर राखिएको धान भिज्नुका साथै परालमा समेत क्षति पुगेको जनाइएको छ। कृषि ज्ञान केन्द्र कैलालीका अनुसार जिल्लामा धान काट्ने क्रम सुरु भइसकेको छ र बुधबारसम्म करिब १० प्रतिशत धान काटिसकिएको अनुमान गरिएको छ।

    यसैबीच, बुधबार बिहान करिब आधा घण्टासम्म परेको भारी वर्षाका कारण काटेर खेतमै राखिएको ५ प्रतिशत धानमा पानी पसेपछि दाना उम्रिन सक्ने, कालो हुने तथा गुणस्तर घट्ने जोखिम बढेको कृषि ज्ञान केन्द्र धनगढीका सूचना अधिकारी टेकबहादुर विष्टले बताए।

    ‘काटेको धान लामो समयसम्म ओसिलो अवस्थामा रहँदा ढुसी लाग्ने र कुहिने सम्भावना हुन्छ। यसले किसानले उत्पादन गरेको धानको बजार मूल्य घट्नुका साथै प्रत्यक्ष आर्थिक नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउन सक्छ,’ विष्टले भने।

    त्यस्तै, पाकेर खेतमा उभिएको धानमा पनि लगातार पानी र हावाको प्रभाव परेमा बोट ढल्ने जोखिम बढेको धनगढी-१४ का किसान मदनराज जोशीले बताए। ‘धान ढलेपछि खेतबाट काट्न कठिन हुने भएको छ, पानीले गर्दा पाकेको धानको दाना झर्ने तथा मेसिन प्रयोग गरेर कटाइ गर्नसमेत समस्या हुने जोखिम बढेको छ,’ जोशीले भने।

    यस्तै, बुधबार परेको पानीले काटेको धान पूरै डुबेको धनगढी-३ डिलासैनी टोलकी धनमती धानुकले बताइन्। उनले काटेको धान अचानक पानी पर्दा बर्बाद भएको बताइन्।

    डिलासैनी टोलकै कलशादेवी धानुकले एक बिघा जग्गाको काटेको धान भिजेको बताइन्। उनले यो पटक आएको पानीले धान भित्र्याउनै लाग्दा धान नै हात नपर्ने अवस्था आएको बताइन्।

    धनगढी-३ बोराडाँडीका किसान पदमबहादुर विष्टले जङ्गली जनावरबाट बल्लतल्ल जोगाएको धान अहिले आएर पानीले बर्बाद गरेको बताए। काटेको धान पानीले भिज्दा खान लाउन नै समस्या हुने भन्दै उनले चिन्ता व्यक्त गरे।

    यता कृषि ज्ञान केन्द्र धनगढीले भने धान पाकेको र काटेको धानमा क्षति हुने भए पनि पाक्न बाँकी धानको उत्पादन भने राम्रो हुने जनाएको छ। कृषि ज्ञान केन्द्र धनगढीले अहिले परेको पानीले कैलालीको कुल उत्पादनमा ५ प्रतिशत धान प्रभावित हुने अनुमान गरिएको जनाएको छ।

    कृषि ज्ञान केन्द्र कैलालीले वर्षाको सम्भावनालाई ध्यानमा राखेर किसानलाई धान काट्ने काममा सावधानी अपनाउन आग्रह गर्दै आएको छ। काटिसकेको धान सुरक्षित र ओभानो स्थानमा राख्न तथा मौसमको अवस्था हेरेर मात्रै धान काट्न केन्द्रले सुझाव दिएको छ।

    जल तथा मौसम विज्ञान विभागले पनि सुदूरपश्चिमका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ। बुधबार देशका विभिन्न भूभागमा वर्षा हुने र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागसम्बन्धी पछिल्लो विवरणमा उल्लेख छ। धान काट्ने समय भएकाले कृषि कार्य गर्दा मौसमको पछिल्लो सूचना लिएर मात्रै काम गर्न किसानलाई आग्रह गरिएको छ।

    कैलाली धान उत्पादनका दृष्टिले सुदूरपश्चिमको महत्वपूर्ण जिल्ला हो। यहाँको कृषि अर्थतन्त्रमा धान खेतीको ठूलो योगदान रहेको अवस्थामा भित्र्याउने बेलामै हुने वर्षाले उत्पादनसँगै किसानको आम्दानीमा समेत असर पार्न सक्ने देखिएको छ।

    किसानहरूले काटिसकेको धान तत्काल सुरक्षित स्थानमा लैजान, खेतमा पानी जम्न नदिन निकासको व्यवस्था गर्न तथा मौसम खुलेलगत्तै धान सुकाउने कामलाई प्राथमिकता दिनुपर्ने कृषि प्राविधिकहरूको सुझाव छ।

    धान भित्र्याउने समयमा हुने वर्षा किसानका लागि हरेक वर्ष चुनौती बन्दै आएको छ। यसपटक पनि मौसममा देखिएको परिवर्तनले किसानलाई समयमै धान सुरक्षित गर्नुपर्ने दबाब बढाएको छ।