वरिष्ठ साहित्यकार 'पत्थर' को ‘तलतल’ र जोशीको‘ अक्षरको आकाश’ विमोचन - Chaitanya News
  • 2026-10-07
  • 10:41:48
  • बुधबार,आश्विन २१, २०८३
  • वरिष्ठ साहित्यकार ‘पत्थर’ को ‘तलतल’ र जोशीको‘ अक्षरको आकाश’ विमोचन

    वरिष्ठ साहित्यकार ‘पत्थर’ को ‘तलतल’ र जोशीको‘ अक्षरको आकाश’ विमोचन

    धनगढीः साहित्यकार श्रेष्ठ प्रिया ‘पत्थर’को मुक्तक संग्रह ‘तलतल’ र हेमन्ती जोशीको कविता संग्रह ‘अक्षरको आकाश’ राजधानीमा आयोजित एक कार्यक्रमबीच विमोचन गरिएको छ।

    गजलकार ज्ञानुवाकर पौडेल, समालोचक लक्ष्मणप्रसाद गौतम तथा लेखकद्वय श्रेष्ठ प्रिया ‘पत्थर’ र हेमन्ती जोशीले संयुक्त रूपमा दुवै कृतिको विमोचन गरेका हुन्।

    कार्यक्रमका प्रमुख अतिथि तथा समालोचक लक्ष्मणप्रसाद गौतमले दुवै सर्जकलाई लामो समयदेखि पढ्दै र सुन्दै आएको उल्लेख गर्दै नेपाली साहित्यमा उनीहरूले निरन्तर पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको बताए।

    उनले श्रेष्ठ प्रिया ‘पत्थर’ले लामो समयदेखि नेपाली साहित्यमा नारी हस्ताक्षरलाई स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको धारणा व्यक्त गरे।

    गजलकार ज्ञानुवाकर पौडेलले श्रेष्ठ प्रिया ‘पत्थर’लाई गजल क्षेत्रमा सिद्धहस्त सर्जकका रूपमा चित्रण गर्दै सुदूरपश्चिममा रहेर नेपाली साहित्यका विभिन्न विधामा सक्रिय दुवै सर्जकको योगदान महत्वपूर्ण रहेको बताए।

    धनगढीलाई कर्मथलो बनाएर साहित्य सिर्जनामा सक्रिय श्रेष्ठ प्रिया ‘पत्थर’ र हेमन्ती जोशी नेपाली मुक्तक, गजल, कविता तथा आख्यानका क्षेत्रमा परिचित छन्। दुवै सर्जक नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सभा सदस्यसमेत हुन्।

    श्रेष्ठ प्रिया ‘पत्थर’ गजल, मुक्तक तथा आख्यान लेखनमा सक्रिय छन्। उनका विभिन्न विधाका कृति प्रकाशित छन्। यस्तै, हेमन्ती जोशीले कथा, गजल, मुक्तक र कवितामा कलम चलाउँदै आएकी छन्। उनका ‘पत्रपत्र जिन्दगी’, ‘प्रतिविम्ब’ लगायतका कथा संग्रह, ‘मनहरू जित्न सकेँ’ गजल संग्रह तथा ‘बगरदेखि सगरसम्म’ मुक्तक संग्रह प्रकाशित छन्।

    विमोचित ‘तलतल’ र ‘अक्षरको आकाश’ दुवै कृति प्रिया पत्थर साहित्य परिषद्ले प्रकाशन गरेको हो।