काठमाडौँ– दक्षिण ध्रुवको बरफ प्रयोग गरेर ब्रह्माण्डबाट आउने उच्च ऊर्जा भएका न्युट्रिनो कण पत्ता लगाउने अवधारणाका वैज्ञानिक फ्रान्सिस हाल्जेनलाई सन् २०२६ को नोबेल भौतिकशास्त्र पुरस्कार प्रदान गरिने भएको छ।
द रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले आइसक्यूब न्युट्रिनो अब्जर्भेटरीको स्थापना तथा अन्तरिक्षबाट आउने उच्च ऊर्जायुक्त न्युट्रिनो कण पत्ता लगाउन योगदान पुर्याएको भन्दै हाल्जेनलाई पुरस्कार दिने निर्णय गरेको हो।
हाल्जेनले दक्षिण ध्रुवमा रहेको सफा बरफलाई न्युट्रिनो पत्ता लगाउने माध्यमका रूपमा प्रयोग गर्न सकिने अवधारणा सन् १९८८ मै अघि सारेका थिए। न्युट्रिनोहरू ब्रह्माण्डभरि फैलिएका हुन्छन् र पृथ्वी तथा मानव शरीर हुँदै सहजै पार हुन्छन्। यद्यपि यी कणहरू कहिलेकाहीँ मात्र एटमिक न्युक्लियससँग ठोक्किन्छन्।
न्युट्रिनो एटमिक न्युक्लियससँग ठोक्किँदा उत्पन्न हुने प्रकाशको चमकलाई बरफभित्र राखिएका सेन्सरमार्फत रेकर्ड गर्न सकिन्छ। यही सिद्धान्तमा आधारित भएर दक्षिण ध्रुवमा करिब एक क्युबिक किलोमिटर क्षेत्रफल ओगट्ने आइसक्यूब अब्जर्भेटरी सन् २०११ मा निर्माण गरिएको थियो।
आइसक्यूबमार्फत प्राप्त तथ्यांकले ब्रह्माण्डमा हुने उच्च ऊर्जा प्रक्रियाबारे अध्ययन गर्न वैज्ञानिकहरूलाई नयाँ आधार प्रदान गरेको छ। दक्षिण ध्रुवको बरफलाई विशाल ‘न्युट्रिनो डिटेक्टर’का रूपमा प्रयोग गर्ने हाल्जेनको अवधारणाले अन्तरिक्षीय कणको अध्ययनलाई नयाँ दिशासमेत दिएको छ।