‘दसैँको अग्रिम टिकट असोज २३ देखि, लामो दूरीका बसमा दुई चालक अनिवार्य’ - Chaitanya News
  • 2026-10-06
  • 15:01:48
  • मंगलबार,आश्विन २०, २०८३
  • ‘दसैँको अग्रिम टिकट असोज २३ देखि, लामो दूरीका बसमा दुई चालक अनिवार्य’

    ‘दसैँको अग्रिम टिकट असोज २३ देखि, लामो दूरीका बसमा दुई चालक अनिवार्य’

    काठमाडौँ– दसैँ, तिहार र छठका लागि घर फर्किने यात्रुको चाप बढ्ने भएपछि सरकारले सार्वजनिक यातायातको सुरक्षा व्यवस्थामा कडाइ गर्ने भएको छ। लामो दूरीका यात्रुवाहक सवारीसाधनमा दुई जना चालक अनिवार्य गर्ने निर्णयसँगै यात्रुको विवरण अभिलेख राख्नेदेखि आकस्मिक उद्धारसम्मका व्यवस्था लागू गरिने भएको हो।

    यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवाला निकायको बैठकले असोज २३ गतेदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ। बैठकमा यातायात व्यवसायी, मजदुर संगठन, प्रहरी, ट्राफिक प्रहरी तथा बसपार्क व्यवस्थापन पक्षका प्रतिनिधि सहभागी थिए।

    चाडपर्वमा लामो दूरीका सवारीसाधनमा चालकको थकानका कारण दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले दुई चालक अनिवार्य गरिएको हो। यात्रुवाहक सवारीमा प्राथमिक उपचार सामग्री, अग्नि नियन्त्रण उपकरण र पिउने पानी अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था पनि गरिएको छ।

    त्यसैगरी टिकट काउन्टरमा खटिने कर्मचारीले परिचयपत्र र तोकिएको पोसाक लगाउनुपर्नेछ। टिकट जारी गर्दा यात्रुको नाम र सम्पर्क नम्बरसमेत अनिवार्य रूपमा अभिलेख राख्नुपर्ने निर्णय भएको छ।

    यात्राका क्रममा राजमार्गमा दुर्घटना, सडक अवरोध वा अन्य आकस्मिक समस्या आए तत्काल सूचना आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्र सञ्चालनमा ल्याउने तयारी छ। बसपार्क र टिकट काउन्टरमा यात्रुको चाप बढ्ने भएकाले सुरक्षा निकायको परिचालनसमेत बढाइने भएको छ।

    बढी भाडा र टिकट कालोबजारीमा निगरानी:

    चाडपर्वको मौका छोपेर तोकिएकोभन्दा बढी भाडा लिने, टिकटमा अनियमितता गर्ने वा कालोबजारी गर्ने व्यवसायी तथा व्यक्तिमाथि कारबाही गरिने भएको छ। यातायात व्यवस्था विभागले व्यवसायी र सुरक्षा निकायसँगको समन्वयमा टिकट वितरण र भाडा अनुगमनलाई तीव्र बनाउने जनाएको छ।

    अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष दीपक केसीका अनुसार सरोकारवाला निकायबीचको छलफलपछि असोज २३ गतेदेखि अग्रिम टिकट खुलाउने सहमति भएको हो।

    १० लाखभन्दा बढी यात्रु बाहिरिने अनुमान:

    यस वर्ष दसैँमा मात्रै काठमाडौँ उपत्यकाबाट १० लाखभन्दा बढी यात्रु बाहिरिने अनुमान गरिएको छ। छोटो अवधिमा ठूलो संख्यामा यात्रु बाहिरिने भएकाले सवारीसाधनको उपलब्धता, टिकट व्यवस्थापन, भाडा नियन्त्रण र सडक सुरक्षालाई एकैसाथ व्यवस्थापन गर्नुपर्ने चुनौती छ।

    केही यातायात कम्पनीले अनलाइन टिकट बुकिङ सुरु गरिसके पनि अग्रिम टिकटको औपचारिक मिति तय नहुँदा यात्रु अन्योलमा थिए। अब असोज २३ देखि औपचारिक रूपमा अग्रिम टिकट बुकिङ खुल्ने भएपछि दसैँका लागि घर फर्किने यात्रुले अग्रिम टिकट लिन सक्नेछन्।

    सरकार तथा सरोकारवाला निकायले चाडपर्वमा यात्रुको अत्यधिक चापलाई व्यवस्थित गर्दै सुरक्षित यात्रा, पारदर्शी टिकट वितरण र तोकिएको भाडाको कार्यान्वयनलाई प्राथमिकता दिने बताएका छन्।