रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा, सरकारी जग्गा सरकारको नाममा ल्याइँदै - Chaitanya News
  • 2026-10-06
  • 12:48:29
  • मंगलबार,आश्विन २०, २०८३
  • रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा, सरकारी जग्गा सरकारको नाममा ल्याइँदै

    रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा, सरकारी जग्गा सरकारको नाममा ल्याइँदै

    काठमाडौँ– सरकारी तथा सार्वजनिक जग्गा संरक्षणका लागि २०५२ सालमा तयार गरिएको रावल आयोगको प्रतिवेदन लामो समयपछि कार्यान्वयनमा ल्याउँदै सरकारले अतिक्रमित जग्गा आफ्नो नाममा कायम गर्ने प्रक्रिया अघि बढाएको छ।

    प्रतिवेदन कार्यान्वयनका क्रममा काठमाडौं महानगरपालिका–४ स्थित ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ। भूमि प्रशासन कार्यालय डिल्लीबजारले रावल आयोगको प्रतिवेदनमा उल्लेख भएको क्षेत्रफल कट्टा गरी उक्त जग्गा सरकारको नाममा कायम गरेको हो।

    भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गठन गरेको प्रतिवेदन कार्यान्वयन समितिले आयोगले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको औँल्याएका कित्ताबाट सम्बन्धित क्षेत्रफल कट्टा गरी सरकारको नाममा ल्याउने प्रक्रिया अघि बढाएको हो।

    रावल आयोगको प्रतिवेदनमा अतिक्रमित तथा व्यक्तिका नाममा दर्ता भएका सरकारी र सार्वजनिक जग्गा पहिचान गरी संरक्षण गर्न सुझाव दिइएको थियो। सोही आधारमा सरकारले प्रतिवेदनमा औँल्याइएका जग्गाको छानबिन तथा अभिलेख व्यवस्थापनको काम अघि बढाएको हो।

    प्रतिवेदन कार्यान्वयनका लागि प्रमुख नापी अधिकृत रमेश ज्ञवालीको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा गृह तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव, सम्बन्धित भूमि प्रशासन तथा नापी कार्यालयका प्रमुखलगायत सदस्य छन्।

    सरकारले रावल आयोगले औँल्याएका सरकारी तथा सार्वजनिक जग्गाको विवरणका आधारमा आवश्यक प्रक्रिया पूरा गरी क्रमशः सरकारको नाममा कायम गर्ने जनाएको छ। यससँगै लामो समयदेखि कार्यान्वयनमा आउन नसकेको आयोगको प्रतिवेदनमार्फत पहिचान गरिएका जग्गा संरक्षणको प्रक्रिया अघि बढेको छ।