‘नागरिक समाजले सरकारलाई निरन्तर खबरदारी गर्नुपर्छ’: विमल कोइराला - Chaitanya News
  • 2026-10-06
  • 12:05:14
  • मंगलबार,आश्विन २०, २०८३
  • ‘नागरिक समाजले सरकारलाई निरन्तर खबरदारी गर्नुपर्छ’: विमल कोइराला

    ‘नागरिक समाजले सरकारलाई निरन्तर खबरदारी गर्नुपर्छ’: विमल कोइराला

    काठमाडौँ– पूर्वमुख्यसचिव विमल कोइरालाले नागरिक समाज राजनीतिक पद, नियुक्ति वा व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम बन्दा लोकतन्त्र कमजोर हुने बताएका छन्।

    सोमबार ललितपुरको पुल्चोकमा आयोजित ‘नागरिक आवाज अभियान’ घोषणा कार्यक्रममा बोल्दै कोइरालाले नागरिक समाजले सरकारको निरन्तर निगरानी गर्दै नागरिकका आवाज राज्यसम्म पुर्‍याउने भूमिका निर्वाह गर्नुपर्ने बताए।

    उनका अनुसार कुनै समय नागरिक समाजले राजनीतिक दललाई समेत खबरदारी र आवश्यक निर्देशन दिन सक्ने हैसियत राख्थ्यो। तर पछिल्लो समय राजनीतिक स्वार्थ, पद र नियुक्तिको अपेक्षाले नागरिक समाजको स्वतन्त्र भूमिका कमजोर बन्दै गएको उनले बताए।

    नागरिक अभियानमा संलग्न संस्थाहरूले सरकारसँग पारदर्शिता र जवाफदेहिताको माग गर्दा आफूहरू पनि त्यही मापदण्डमा उभिनुपर्ने कोइरालाको भनाइ छ। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नागरिकका वास्तविक मुद्दालाई प्राथमिकता दिनुपर्ने उनले बताए।

    निर्वाचनबाट प्राप्त जनमतले सरकारलाई वैधानिकता दिए पनि जनताको विश्वास कायम राख्न सरकार निरन्तर जनउत्तरदायी हुनुपर्ने उनले उल्लेख गरे। सरकार निष्पक्ष र तटस्थ भएर नागरिकलाई सेवा दिनुपर्ने तथा सेवा, सुविधा र राजकाजमा राजनीतिकरण गर्न नहुने उनको भनाइ थियो।

    ‘डेमोक्रेसी भनेको बहुमतको अधिनायकवाद होइन,’ उनले भने, ‘यसमा अल्पमतको पनि त्यत्तिकै स्थान हुन्छ। सानो स्वर पनि त्यहाँ समेटिनुपर्छ।’

    कोइरालाले नागरिकका आवाज नसुन्ने वा सानो स्वरलाई बेवास्ता गर्ने अवस्था आए संगठित नागरिक अभियान आवश्यक हुने बताए। लोकतन्त्रमा प्रेससँगै नागरिक शक्ति पनि महत्वपूर्ण हुने उल्लेख गर्दै उनले नागरिकका आवाज सञ्चारमाध्यममार्फत प्रभावकारी रूपमा राज्य र समाजसम्म पुर्‍याउनुपर्नेमा जोड दिए।