काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएसँगै १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनको प्रक्रिया अघि बढेको छ। संशोधित विधानअनुसार २ सय ९७ सदस्यीय केन्द्रीय कार्यसमिति बन्नेछ भने उम्मेदवारी मनोनयनको कार्यतालिका पनि सार्वजनिक गरिएको छ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार मंगलबार बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन फारम वितरण सुरु भएको छ। उम्मेदवारी दर्ताका लागि भने दिउँसो १२ः३० देखि ४ बजेसम्मको समय तोकिएको छ।
यसअघि बिहान ९ः३० बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोधको समय दिइएको थियो। प्राप्त उजुरीमाथि बिहान १०ः३० बजेसम्म जाँचबुझ गरी ११ः३० बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छ।
संशोधित विधानले कांग्रेसको केन्द्रीय कार्यसमितिमा सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन र सहमहामन्त्री १५ जना रहने व्यवस्था गरेको छ। चार उपसभापतिमध्ये एक र तीन महामन्त्रीमध्ये एक जना महिला अनिवार्य गरिएको छ।
कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक जना मनोनीत हुने व्यवस्था छ। केन्द्रीय सदस्यमा विभिन्न समावेशी समूह, प्रदेश, महिला, युवा तथा अन्य प्रतिनिधित्व सुनिश्चित गरिएको छ।
खुलातर्फ ४५ र महिलातर्फ १५ जना केन्द्रीय सदस्य रहनेछन्। प्रत्येक प्रदेशबाट एक महिलासहित चार जना तथा काठमाडौँ उपत्यकाबाट एक महिलासहित दुई जना चयन हुनेछन्।
दलिततर्फ पाँच महिलासहित १४, आदिवासी जनजातितर्फ आठ महिलासहित २०, खस आर्यतर्फ आठ महिलासहित १८ र मधेशीतर्फ पाँच महिलासहित १३ जना केन्द्रीय सदस्य रहनेछन्।
त्यस्तै, जनसम्पर्क समितिबाट दुई महिलासहित सात, पिछडिएको वर्गबाट तीन, थारूतर्फ दुई महिलासहित छ, श्रमिकतर्फ एक महिलासहित तीन तथा पेसागत विज्ञतर्फ दुई महिलासहित सात जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ।
सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवा, अपाङ्गता भएका व्यक्तिबाट एक जना र प्रजातन्त्र सेनानीबाट तीन जना केन्द्रीय सदस्य बन्नेछन्। त्यसबाहेक केन्द्रीय कार्यसमितिले थप ६६ जना सदस्य मनोनीत गर्न सक्ने व्यवस्था संशोधित विधानमा गरिएको छ।
यससँगै कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयनका लागि मनोनयनदेखि निर्वाचनसम्मको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।