मन्त्रिपरिषद्का ५ निर्णय सार्वजनिक - Chaitanya News
  • 2026-10-05
  • 17:20:17
  • सोमबार,आश्विन १९, २०८३
  • मन्त्रिपरिषद्का ५ निर्णय सार्वजनिक

    मन्त्रिपरिषद्का ५ निर्णय सार्वजनिक

    काठमाडौँ– सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच मुख्य निर्णय सार्वजनिक गरेको छ।

    सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि निर्णय सार्वजनिक गरेका हुन्। उनका अनुसार बैठकले नर्वेजियन सरकारबाट अनुदान सहायता स्वीकार गर्नेदेखि नेपाल इन्जिनियरिङ सेवाको नियम संशोधन, वैकल्पिक विकास वित्त परिचालन र जेनजी आन्दोलनसँग सम्बन्धित मुद्दा फिर्तासम्बन्धी प्रतिवेदन गृह मन्त्रालय पठाउनेसम्मका निर्णय गरेको छ।

    बैठकले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा र रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्न स्वीकृति दिएको छ।

    त्यस्तै, नेपाल इन्जिनियरिङ सेवा, गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।

    बैठकले वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ पनि स्वीकृत गरेको छ।

    जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने विषयमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गृह मन्त्रालयमा पठाउने निर्णयसमेत गरिएको छ।

    यस्तै, सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहिकरणतर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।