कांग्रेसको संगठन विस्तार : उपसभापति–महामन्त्री बढ्दै, केन्द्रीय समिति पनि ठूलो बनाउने तयारी - Chaitanya News
  • 2026-10-05
  • 13:26:33
  • सोमबार,आश्विन १९, २०८३
  • कांग्रेसको संगठन विस्तार : उपसभापति–महामन्त्री बढ्दै, केन्द्रीय समिति पनि ठूलो बनाउने तयारी

    कांग्रेसको संगठन विस्तार : उपसभापति–महामन्त्री बढ्दै, केन्द्रीय समिति पनि ठूलो बनाउने तयारी

    काठमाडौँ– नेपाली कांग्रेसले पार्टीको संगठनात्मक संरचना थप विस्तार गर्ने तयारी गरेको छ। विधान संशोधनमार्फत उपसभापति, महामन्त्री र सहमहामन्त्रीको संख्या बढाउनुका साथै केन्द्रीय समितिको आकारसमेत बढाउने तयारी भएको हो।

    संशोधित व्यवस्थाअनुसार कांग्रेसमा अब चार जना उपसभापति रहनेछन्। तीमध्ये एक जनालाई वरिष्ठ उपसभापतिको जिम्मेवारी दिने गरी नयाँ पद सिर्जना गर्न लागिएको छ। चारै जना उपसभापति निर्वाचित हुने व्यवस्था प्रस्ताव गरिएको छ।

    महामन्त्रीको संख्या पनि दुईबाट बढाएर तीन जना बनाइने भएको छ। तीन महामन्त्रीमध्ये एक जना महिला हुने व्यवस्था प्रस्ताव गरिएको छ। महामन्त्री पनि सबै निर्वाचित हुनुपर्नेछ।

    सहमहामन्त्रीको संख्या भने ११ बाट बढाएर १३ जना पुर्‍याउने तयारी छ। प्रस्तावित व्यवस्थाअनुसार आठ जना समावेशी समूहबाट, दुई जना खुलातर्फबाट र तीन जना सभापतिबाट मनोनीत हुनेछन्।

    यसअघि कांग्रेसमा समावेशिताका आधारमा आठ जना सहमहामन्त्री रहने व्यवस्था थियो। नयाँ प्रस्ताव कार्यान्वयनमा आएपछि पार्टीको पदाधिकारी संरचना थप फराकिलो हुनेछ।

    पदाधिकारीसँगै केन्द्रीय सदस्यको संख्या पनि बढाउने तयारी भइरहेको छ। खुलातर्फबाट निर्वाचित हुने केन्द्रीय सदस्यको संख्या ३५ बाट बढाएर ४५ पुर्‍याउने प्रस्ताव छ।

    खुलातर्फका सदस्य बढाउँदा अन्य समावेशी क्लष्टरबाट पनि संख्या थप्नुपर्ने माग पार्टीभित्र उठेको छ। त्यसैले केन्द्रीय समितिको अन्तिम आकारबारे भने अझै छलफल भइरहेको कांग्रेसका एक शीर्ष नेताले बताए।

    यसअघि कांग्रेसको विधानमा २३१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरिएको थियो। अब पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाइएपछि केन्द्रीय समितिको आकारसमेत थप ठूलो हुने भएको छ।

    उपसभापति, महामन्त्री र सहमहामन्त्रीको संख्या बढाउने विषयमा सहमति भइसके पनि केन्द्रीय सदस्यको कुल संख्या कति पुर्‍याउने भन्ने विषयमा छलफल जारी रहेको नेताहरूले बताएका छन्।

    यससँगै कांग्रेसको आगामी विधान संशोधनले पार्टीको पदाधिकारी संरचना मात्र होइन, केन्द्रीय संगठनकै आकार र समावेशी प्रतिनिधित्वको दायरा विस्तार गर्ने देखिएको छ।