संसद्ले आज नयाँ सभामुख पाउँदै, न्यौपाने र घिमिरेमा कसले मार्लान् बाजी ? - Chaitanya News
  • 2026-05-13
  • 22:55:34
  • बुधबार,बैशाख ३०, २०८३
  • संसद्ले आज नयाँ सभामुख पाउँदै, न्यौपाने र घिमिरेमा कसले मार्लान् बाजी ?

    संसद्ले आज नयाँ सभामुख पाउँदै, न्यौपाने र घिमिरेमा कसले मार्लान् बाजी ?

    काठमाडाैँ – प्रतिनिधिसभाले आज नयाँ सभामुख पाउँदैछ । प्रतिनिधिसभाको सभामुख पदका लागि दुई जनाकाे मात्र उम्मेदवारी परेको छ ।सभामुखको निर्वाचन बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा हुँदैछ । उक्त बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ ।

    सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले)का सांसद देवराज घिमिरे र प्रतिपक्षका तर्फबाट नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेकाे उम्मेदवारी परेकालेे दुई जनाबीच कडा प्रतिस्पर्धा हुने भएकाे छ ।

    सत्तारुढ दलकाे समर्थन पाएका घिमिरे सभामुख बन्ने लगभग निश्चित जस्तैछ । न्याैपानेलाइ भने अहिलेसम्म कांग्रेसकाे मात्रै समर्थन देखिन्छ । गठबन्धन बाहेकका अन्यदलहरूले पनि समर्थन गर्ने कांग्रेसकाे विश्वास छ । सभामुखका दुबै उम्मेदवारले आफूले जित्ने दाबी गर्दै आएका छन् ।

    कसले मार्लान् बाजी ?
    समग्रमा हेर्दा गठबन्धनका उम्मेदवार घिमिरेको पल्ला भारी देखिएको छ । प्रतिनिधि सभामा रहेका २७५ सांसदबाट बहुमतका लागि १३८ मत आवश्यक पर्नेमा उनको पक्षमा प्रस्ताव र समर्थन गर्ने पार्टी एमालेका ७९, माओवादी ३२, रास्वपाका २०, राप्रपा १४ गर्दा १४५ छन् । सत्ता गठबन्धनका यी चार दलकै मत पनि सहजै बहुमत पुग्‍ने देखिएको छ ।

    प्रचण्ड सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) र जनमतले गठबन्धनमा असन्तुष्टि व्यक्त गरेका कारण प्रधानमन्त्रीको भन्दा कम मत सभामुखले पाउने देखिएको छ । जसपासँग १२ सांसद रहेका छन् । यद्यपि सभामुखको चुनावअघि मात्रै पार्टीले कसलाई समर्थन गर्ने भन्ने निर्णय गर्ने जसपाका संसदीय दलका नेता रामसहाय प्रसाद यादवले जानकारी दिए ।

    रोजेको मन्त्रालय नपाएपछि जनमत पार्टीले पनि गठबन्धनमा असन्तुष्टि प्रकट गरेको छ । सरकारमा सहभागी भएको दल जनमत पार्टीमा ६ सांसद छन् । अर्थात् यी दुई पार्टीका कुल १८ सांसदको मत कता जाने भन्ने अन्योल छ ।

    चार सांसद रहेको नागरिक उन्मुक्ति पार्टी पनि असन्तुष्ट रहेको छ । तर, उसले गठबन्धनको पक्षमै मत हाल्ने बताइएको छ । तीनजना स्वतन्त्र सांसद छन् । जसमा दुई सांसदले प्रचण्डलाई समर्थन गरेका थिए ।अर्थात् गठबन्धनमा अहिलेको अवस्थामा चार दलका १४५ र नागरिक उन्मुक्ति र स्वतन्त्र गरी १५१ को समर्थन देखिन्छ ।

    विपक्षी गठबन्धनमा कांग्रेसका ८९ सांसद छन् । तर, टेकबहादुर गुरुङ निलम्बनमा परेकाले ८८ सांसदले मात्रै भोट हाल्नेछन् । कांग्रेसलाई समर्थन गरेको दल एकीकृत समाजवादीका १० सांसद छन् । लोकतान्त्रिक समाजवादी (लोसपा)ले पनि कांग्रेसलाई समर्थन गर्ने भएको छ । अहिलेकै अवस्थामा कांग्रेसकी उम्मेदवार न्यौपानेको पक्षमा १०२ मत देखिन्छ ।

    राष्ट्रिय जनमोर्चा र नेमकिपाका १-१ सांसद छन् । उनीहरू तथस्त बस्‍ने सम्भावना रहेको छ । त्यस्तै, १ स्वतन्त्र सांसद कतै खुलेका छैनन् । यसरी हेर्दा कांग्रेसलाई सत्ता गठबन्धनमा असन्तुष्ट रहेका जसपा, जनमत र अरू पार्टीका सांसदसमेत जोड्दा पनि बहुमत पुग्ने देखिँदैन । सबै जसपा, जनमत, राजमो र नेमकिपाले कांग्रेसलाई मत दिए पनि १२३ मात्रै हुन्छ ।

    सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । सभामुख चयन नहुँदासम्म प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशम्शेर जबराले बैठक सञ्चाजन गर्दै आएका थिए ।