फारवेष्ट कपमा चैतन्य पाठशाला उपविजेता - Chaitanya News
  • 2026-10-04
  • 14:15:19
  • आइतबार,आश्विन १८, २०८३
  • फारवेष्ट कपमा चैतन्य पाठशाला उपविजेता

    फारवेष्ट कपमा चैतन्य पाठशाला उपविजेता

    धनगढीः सातौँ फारवेष्ट कप आधारभूत तह विद्यालयस्तरीय पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता–२०८३ मा धनगढीको चैतन्य पाठशाला उपविजेता बनेको छ।

    शनिबार कञ्चनपुरको पुनर्वास नगरपालिका–१० मा रहेको फारवेष्ट इन्टरनेसनल स्कुलले आयोजना गरेको प्रतियोगिताको फाइनलमा चैतन्य पाठशाला पुनर्वास–११ स्थित आदर्श बोर्डिङ स्कुलसँग पराजित हुँदै उपविजेता बनेको हो।

    फाइनल खेलमा आदर्श बोर्डिङ स्कुलले चैतन्य पाठशालालाई ५–४ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै आदर्शले ५० हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गरेको छ। उपविजेता चैतन्य पाठशालाले २५ हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गरेको छ।

    प्रतियोगितामा कैलाली र कञ्चनपुरका २७ विद्यालय सहभागी थिए। आधारभूत तह अर्थात् कक्षा ८ सम्मका विद्यार्थी सहभागी प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन गरिएको थियो।

    चैतन्य पाठशालाबाट कप्तान आशिष खड्काको नेतृत्वमा विप्लव कडायत, कुशल कुँवर, केडिङ शाही, आर्यन विक र आर्जन रसाइलीले प्रतियोगितामा सहभागिता जनाएका थिए। टोलीको नेतृत्व विद्यालयका फुटबल प्रशिक्षक तथा पूर्व राष्ट्रिय खेलाडी टेक भट्टराईले गरेका थिए।

    प्रतियोगितामा चैतन्यका कुशल कुँवर सर्वाधिक गोलकर्ता घोषित भए। उनले नगद ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे। चैतन्यका प्रशिक्षक टेक भट्टराई उत्कृष्ट प्रशिक्षक घोषित हुँदै नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरे।

    यस्तै, आदर्श बोर्डिङ स्कुलका प्रेम विष्ट उत्कृष्ट गोलरक्षक र रोहित विक उत्कृष्ट खेलाडी घोषित भए। आयोजक फारवेष्ट इन्टरनेसनल स्कुलका शेरबहादुर बयाडी उदयमान खेलाडी घोषित भए।

    फारवेष्ट इन्टरनेसनल स्कुलका संस्थापक काशीराम बोहराको अध्यक्षतामा भएको समापन कार्यक्रममा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य प्रमोद मल्लले प्रतियोगिताले फुटबल खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए।

    कार्यक्रमका प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव लोकबहादुर खड्काले प्रतियोगिताले फुटबल खेलको गरिमा बढाउनुका साथै ग्रामीण क्षेत्रबाट खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

    कार्यक्रमका अध्यक्ष तथा आयोजक विद्यालयका संस्थापक बोहराले प्रतियोगितामा सहभागी विद्यालय तथा खेलाडीलाई धन्यवाद दिँदै प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने बताए। उनले आठौँ संस्करणदेखि प्रतियोगिताको पुरस्कार राशि बढाउने घोषणा गरे।