काठमाडौँ– नेपाल र श्रीलंकाबीच व्यापार, पर्यटन, शिक्षा, संस्कृति तथा जनस्तरको सम्बन्ध थप विस्तार गर्ने विषयमा दुवै देशका परराष्ट्रमन्त्रीबीच छलफल भएको छ ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथसँग साइडलाइन भेटवार्ता गर्दै द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल गरेका हुन् ।
भेटमा नेपाल–श्रीलंका मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको परराष्ट्रमन्त्री खनालको सचिवालयले जनाएको छ ।
दुवै मन्त्रीले दुई देशबीच विद्यमान द्विपक्षीय संयन्त्रका बैठक नियमित रूपमा आयोजना गर्नुपर्नेमा जोड दिएका थिए । व्यापार, पर्यटन, शिक्षा, संस्कृति, सम्पर्क सञ्जाल र जनस्तरको सम्बन्धलगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि उनीहरूबीच छलफल भएको थियो ।
भेटका क्रममा मन्त्री खनालले नेपालको हालैको विनाशकारी जलवायुजन्य विपद्बाट प्रभावित समुदायप्रति श्रीलंकाले देखाएको सहानुभूति र ऐक्यबद्धताप्रति आभार व्यक्त गरे । उनले विपद्का बेला आर्थिक तथा मानवीय सहायता उपलब्ध गराएकामा श्रीलंका सरकार र त्यहाँका जनतालाई धन्यवादसमेत दिए ।
दुवै मन्त्रीले आपसी हितका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउँदै नेपाल–श्रीलंका सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।