काठमाडौँ– वर्षा, सहकाल र समृद्धिका देवता देवराज इन्द्रको पूजा–आराधनासँगै आज काठमाडौँ उपत्यकामा इन्द्रजात्रा पर्व मनाइँदैछ। भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यस पर्वसँगै अनन्त चतुर्दशीको धार्मिक विधिसमेत पूरा गरिँदैछ।
काठमाडौँसहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिसहित इन्द्रजात्रा मनाउने परम्परा छ। हनुमानढोकाअगाडि भाद्र शुक्ल द्वादशीका दिन धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि जात्रा औपचारिक रूपमा सुरु भएको मानिन्छ।
इन्द्रध्वजोत्थानका रूपमा समेत चिनिने लिङ्गोको फेदमा भैरवको पूजा गर्ने परम्परा छ। शत्रुमाथि विजय प्राप्त गरेपछि विजय उत्सव मनाउने तथा इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्तिको प्रतीकका रूपमा इन्द्रजात्रा मनाउने गरिएको धार्मिक मान्यता छ।
इन्द्रजात्राका क्रममा विभिन्न नाच, रथयात्रा तथा देवीदेवताका पूजा–आराधना गरिन्छ। जात्रामा भक्कुनाच, महाकाली नाच, लाखेनाच, दशअवतारसँगै देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक मानिने पुलुकिसी नाच प्रदर्शन गरिन्छ।
आजको मुख्य आकर्षणका रूपमा हनुमानढोकास्थित गद्दी बैठकमा राष्ट्रपतिले जीवित देवीका रूपमा पूजिने गणेश, भैरव र कुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा छ। राजतन्त्रको समयमा यही परम्परा राजाबाट पूरा गरिन्थ्यो।
इन्द्रजात्राका लागि प्रयोग हुने लिङ्गो भक्तपुरको नाला सामुदायिक वनमा तान्त्रिक विधिबाट पूजा गरिएको बोकाले छोएको रूखमध्येबाट छनोट गरी भाद्र शुक्ल द्वितीयाका दिन काट्ने गरिन्छ। त्यसपछि साइत हेरेर लिङ्गोलाई काठमाडौँ उपत्यका भित्र्याइन्छ। उपत्यका ल्याइएको लिङ्गोलाई एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पारिन्छ।
लिङ्गो ठड्याएको आठौँ दिनपछि इन्द्रध्वज पातन अर्थात् लिङ्गो ढाल्ने विधि पूरा गरिन्छ। भरणी नक्षत्रको रातमा लिङ्गो ढाल्ने शास्त्रीय व्यवस्था रहेको धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले बताए।
इन्द्रजात्राको अवसरमा काठमाडौँ उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा समेत धार्मिक मेला लाग्छ। भक्तजन रातभर जाग्राम बसेर भाद्र शुक्ल पूर्णिमाका दिन इन्द्रदहमा स्नान गरी मेला भर्न जाने गर्छन्।
अनन्त चतुर्दशी पनि आजै:
भाद्र शुक्ल चतुर्दशीका दिन भगवान् विष्णुको अनन्तनाथ स्वरूपको पूजा–आराधना गर्ने भएकाले आजको दिनलाई अनन्त चतुर्दशीका रूपमा पनि मनाइन्छ।
आज चोखो धागोमा अनन्त मन्त्रण गरी हातमा बाँध्ने परम्परा छ। यसरी अनन्त बाँध्दा वर्षभर शुभ हुने धार्मिक विश्वास रहेको छ।
श्रावण शुक्ल पूर्णिमाका दिन कुनै कारणवश जनै (यज्ञोपवीत) मन्त्रन छुटेका व्यक्तिले आज मन्त्रन सक्ने शास्त्रीय व्यवस्था रहेको धर्मशास्त्रविद् भट्टराईले बताए। अनन्त चतुर्दशीको व्रत पनि आजै गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
यसरी भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौँ उपत्यकामा एकातिर इन्द्रजात्राको सांस्कृतिक र धार्मिक उत्सव चलिरहँदा अर्कोतिर अनन्त चतुर्दशीका धार्मिक विधि तथा व्रतसमेत सम्पन्न गरिँदैछ।