आज कुशेऔँसी, बाबुलाई मिठाइ खुवाएर आशीर्वाद लिँदै पितृको सम्झना गरिँदै - Chaitanya News
  • 2026-09-11
  • 09:31:28
  • शुक्रबार,भाद्र २६, २०८३
  • आज कुशेऔँसी, बाबुलाई मिठाइ खुवाएर आशीर्वाद लिँदै पितृको सम्झना गरिँदै

    आज कुशेऔँसी, बाबुलाई मिठाइ खुवाएर आशीर्वाद लिँदै पितृको सम्झना गरिँदै

    काठमाडौँ– आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीले जीवित बाबुलाई श्रद्धा र सम्मान प्रकट गर्दै तथा दिवङ्गत पितृको सम्झनामा तर्पण, पिण्डदान र श्राद्ध गरी यो पर्व मनाउँदैछन्।

    भाद्रकृष्ण औँसीका दिन मनाइने यस पर्वमा छोराछोरीले बाबुलाई मनपर्ने मिठाइ तथा भोजन खुवाएर आशीर्वाद लिने परम्परा छ। बाबु दिवङ्गत भइसकेकाले भने विभिन्न तीर्थस्थलमा पुगेर पितृको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने चलन छ।

    यसै दिन वर्षभरि देवकार्य र पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरमा भित्र्याउने गरिन्छ। धार्मिक मान्यताअनुसार ब्राह्मणद्वारा विधिपूर्वक पूजा गरी उखेलिएको कुश घरमा राख्दा परिवारको कल्याण हुने विश्वास छ। आज उखेलिएको कुश वर्षभर प्रयोग गर्न मिल्ने शास्त्रीय मान्यता रहेको प्रा डा देवमणि भट्टराईले बताए।

    सनातन धर्मावलम्बीले कुशसँगै तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा मान्ने गर्छन्। धार्मिक विश्वासअनुसार सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुशको पनि उत्पत्ति गरेका हुन्। घरमा राखिएको कुश वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिन्छ।

    गोकर्णमा पितृको नाममा तर्पण र पिण्डदान

    कुशेऔँसीका अवसरमा काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्ने गर्दछ। उत्तरगयाका रूपमा समेत चिनिने गोकर्णमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्न श्रद्धालुको भीड लाग्ने गरेको छ।

    मेला व्यवस्थापनका लागि आवश्यक तयारी पूरा गरिएको गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष एवं मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतले जानकारी दिए।

    यसैगरी रसुवा र नुवाकोटको सङ्गमस्थल बेत्रावतीमा पनि कुशेऔँसीका अवसरमा मेला लाग्ने गर्दछ। दिवङ्गत पितृको नाममा तर्पण, सिदादान र पिण्डदान गर्न श्रद्धालु त्यहाँ पुग्ने गर्छन्। तर यस वर्ष भोटेकोशी बाढीका कारण बेत्रावतीमा मेला सञ्चालन हुने–नहुने निश्चित भइसकेको छैन।

    ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुसार जीवित बाबुलाई श्रद्धापूर्वक भोजन गराई आशीर्वाद लिए सुख प्राप्त हुने विश्वास गरिन्छ। बाबु दिवङ्गत भइसकेकाले गोकर्णलगायत तीर्थस्थलमा पुगेर तर्पण तथा सिदादान गरे पुण्य प्राप्त हुने र कुल स्थिर हुने धार्मिक ग्रन्थमा उल्लेख छ।

    कुशेऔँसीमा गरिएको सानो दानले समेत धेरै पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेकाले यस दिनलाई पितृसम्मान र पुण्यकर्मको विशेष दिनका रूपमा लिने गरिन्छ।