काठमाडौँ– कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेन जेड आन्दोलनका शहीद तथा घाइतेले उठाएका माग सम्बोधनका लागि सरकारभित्र निरन्तर छलफल भइरहेको बताएकी छन्। उनले माग पूरा गर्न केही समय लाग्ने भन्दै जेन जेड समुदायलाई धैर्य कायम राख्न आग्रह गरेकी हुन्।
जेन जेड शहीद दिवसका अवसरमा जेन जेड शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा मन्त्री गौतमले सरकार आन्दोलनका शहीद, घाइते तथा उनीहरूका परिवारले भोगेको पीडाप्रति संवेदनशील रहेको बताइन्।
उनले वर्तमान सरकार जनताको आवाज सुन्न तयार रहेको भन्दै जेन जेड आन्दोलनले उठाएका विषयलाई सही ढंगले सम्बोधन गर्न सरकारका मन्त्री तथा सांसदहरूबीच दैनिकजसो छलफल र सरसल्लाह भइरहेको बताइन्।
‘सरकारको संरचनाभित्र काम गर्ने तौरतरिका बुझ्न केही समय लागेको’ उल्लेख गर्दै उनले माग सम्बोधनमा ढिलाइ हुँदा आन्दोलनसँग जोडिएका व्यक्तिहरूको धैर्य टुट्न सक्ने अवस्थाबारे आफूहरू जानकार रहेको बताइन्।
‘ढिलो–चाँडो सबै कुरा ठीक ठाउँमा आउँछ, धैर्यता राख्नुपर्छ,’ उनको आग्रह थियो।
मन्त्री गौतमले जेन जेड आन्दोलनका शहीद तथा घाइतेले देखेका सपना पूरा गर्न सरकार ‘सफा नियत’का साथ अघि बढिरहेको दाबी गरिन्। सरकारमाथि विश्वास राख्न आग्रह गर्दै उनले आफूहरू आन्दोलनसँग जोडिएका सबै पक्षको माग सम्बोधन गर्ने प्रयासमा रहेको बताइन्।
उनले जेन जेड समुदायभित्रै विभाजन र एकअर्कामाथि दोषारोपण बढे त्यसबाट आन्दोलनका विरोधीहरूले फाइदा उठाउन सक्ने चेतावनीसमेत दिइन्। शहीद परिवार, घाइते तथा आन्दोलनसँग जोडिएका सबैलाई एक ठाउँमा उभिएर एकअर्कालाई सहयोग, साहस र हौसला दिन उनले आग्रह गरिन्।
मन्त्री गौतमले वर्तमान सरकार गठन भएको करिब पाँच महिना मात्र भएकाले सरकार सञ्चालन तथा कानुन निर्माणमा केही चुनौती रहेको बताइन्। प्रतिनिधिसभामा पर्याप्त संख्या भए पनि संवैधानिक संरचनाका कारण कानुन निर्माणलगायतका प्रक्रियामा समय लागिरहेको उनको भनाइ थियो।
यसैबीच उनले भदौ २३ गतेको घटनालाई विशेष रूपमा स्मरण गर्नुपर्ने बताइन्। लोकतन्त्रमा नागरिकमाथि गोली चल्नु दुःखद भएको उल्लेख गर्दै उनले अब त्यस्तो नियति कसैले भोग्न नपर्ने अवस्था निर्माण गर्नुपर्ने बताइन्।
‘भदौ २३ गतेको जस्तो नियति अब कसैले भोग्न नपरोस्, कुनै आमाले आफ्नो सन्तान गुमाउन नपरोस्,’ उनले भनिन्।
उनले भ्रष्टाचार र शासन व्यवस्थाविरुद्ध आवाज उठाउँदा नागरिकले गोली खानुपर्ने अवस्था आएको बताउँदै भदौ २३ गते आन्दोलनकारीमाथि राज्यले गरेको दमनकै कारण भदौ २४ गतेको परिस्थिति सिर्जना भएको दाबी गरिन्।
मन्त्री गौतमले भदौ २३ र २४ गते भएका घटनालाई एउटै दृष्टिकोणबाट हेर्न नहुने बताउँदै दुवै दिनका घटनाको छुट्टाछुट्टै प्रकृति र पृष्ठभूमिलाई बुझ्नुपर्नेमा जोड दिइन्।