काठमाडौँ– रसुवाको भोटेकोशीसहित आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३ सय ५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ २२ गते बिहान ११ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै उक्त तथ्यांक दिएको हो।
प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लामा फेला परेका १ हजार ३ सय ५५ शवमध्ये हालसम्म ९८ जनाको मात्र सनाखत भएको छ। सनाखत भएका शव आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ।
सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा ३ सय ६३, नवलपरासी पूर्वमा २ सय २२, नवलपरासी पश्चिममा २ सय २१, नुवाकोटमा १ सय ९७, रसुवामा १ सय ६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ।
बाढीमा परी हालसम्म ४ हजार ९ सय ९६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीनमध्ये रसुवाका १ हजार ९ सय ६७, नुवाकोटका २ हजार ३ सय ४०, सुरक्षाकर्मी तथा कर्मचारी करिब १ सय र विदेशी नागरिक ५ सय ८९ जना छन्।
सम्पर्कविहीनको सूचीमा उद्धार गरिएका तर सनाखत हुन बाँकी व्यक्ति पनि समावेश हुन सक्ने भएकाले तथ्यांक रुजु गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ।
१३ हजारभन्दा बढीको उद्धार:
बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३ सय ९६ जनालाई सुरक्षित स्थानमा उद्धार गरिएको छ। बाढीमा परी घाइते भएका ६ हजार ६ सय ७२ जनाको उपचार गरिएकोमा २ सय २८ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।
हाल ३ सय २३ जना विभिन्न अस्पतालमा उपचाररत छन्। घाइतेको उपचारमा नेपाली सेनाले ३ हजार ३ सय ७९ र सशस्त्र प्रहरीले २ हजार ९ सय ७० जनालाई सेवा प्रदान गरेका छन्।
रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा अहिले ३ हजार ५ सय ३३ जना आश्रित रहेका छन्।
२१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन:
खोज तथा उद्धारका लागि २१ हजार ४ सय २ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय १२ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना छन्।
भदौ २१ गते रसुवामा हेलिकप्टर र ट्रकमार्फत खाद्यान्न, जेनेरेटर, हाइजिन किट तथा विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री ढुवानी गरिएको प्राधिकरणले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रमा १ सय ५० जना स्वास्थ्यकर्मी परिचालन गरेको छ। यस्तै, २९ जना मनोसामाजिक परामर्शदाता पनि प्रभावित क्षेत्रमा खटिएका छन्।
सेनाको १ हजार १५७ पटक उडान:
उद्धार तथा राहतका लागि नेपाली सेनाले हालसम्म १ हजार १ सय ५७ पटक र सशस्त्र प्रहरीले १ सय ९३ पटक उडान गरेका छन्। निजी क्षेत्रका हेलिकप्टरले समेत १ सय २९ पटक उडान भरेका छन्।
विद्युत् तथा सञ्चार सेवा पनि क्रमशः पुनःस्थापित हुँदै गएको प्राधिकरणले जनाएको छ। धादिङमा ९९ दशमलव ८ प्रतिशत, नुवाकोटमा ९६ दशमलव ७ प्रतिशत र रसुवामा ७८ प्रतिशत घरधुरीमा विद्युत् आपूर्ति सुचारु भएको छ।
त्यस्तै, नेपाल टेलिकमका १ सय २० मध्ये १ सय १७ र एनसेलका ७८ मध्ये ७६ वटा टावर सञ्चालनमा आएका छन्।
प्रभावित जिल्लामा करोडौँ राहत:
सरकारले राहतस्वरूप रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराएको छ। प्रभावित १५ वटा स्थानीय तहका लागि कुल १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
प्रभावित क्षेत्रमा इन्धन अभाव हुन नदिन ५८ हजार लिटर डिजेल, २५ हजार लिटर पेट्रोल र १३ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ। यस्तै, ४ सय ५७ वटा ग्यास सिलिन्डर अनुदानस्वरूप पठाइएको छ।
प्राधिकरणले बेपत्ता, घाइते तथा उद्धार गरिएका व्यक्तिहरूको विस्तृत विवरण आफ्नो आधिकारिक फेसबुक पेज तथा वेबसाइटमा अद्यावधिक गरिएको जनाएको छ।