जीवन यात्राको गोरेटो र आलोचनाको कसि:
मानव जीवन एक अनवरत यात्रा हो, जुन पाठशालाबाट सुरु भएर वैश्विक मञ्चको नेतृत्वसम्म पुग्न सक्छ। एक सामान्य विद्यार्थी जब समाजको बृहत्तर परिवेशमा प्रवेश गर्छ, उसले अनेकन् चुनौती, अवरोध र सबैभन्दा ठूलो कुरा: आलोचनाको सामना गर्नुपर्ने हुन्छ। आलोचना मानव सभ्यताको यस्तो कसि हो, जसले कमजोरलाई गलाउँछ र बलियोलाई बहुमूल्य हीरा जस्तै चम्काउँछ।
‘विद्यार्थीदेखि वैश्विक नेतृत्वसम्म’ को यो यात्रा केवल पदीय उन्नति वा शक्तिको आर्जन मात्र होइन। यो त विचारको परिपक्वता, सहनशीलताको परीक्षा र सामाजिक रूपान्तरणको महाअभियान हो। जीवन यात्रामा आलोचना र समीलोचनालाई जसले आफ्नो मार्गदर्शक र ऊर्जाको रूपमा ग्रहण गर्न सक्छ, उसैले मात्र इतिहासको पानामा आफ्नो नाम स्वर्ण अक्षरले कोर्न सफल हुन्छ।
१.आलोचनाले जीवन निर्माणमा खेल्ने भूमिका: शत्रु कि पथप्रदर्शक?
संसारमा आलोचनालाई सामान्यतया नकारात्मक दृष्टिकोणले हेरिन्छ। तर, गहिरिएर विचार गर्ने हो भने, आलोचना जीवन निर्माणको सबैभन्दा शक्तिशाली औजार हो। जसरी एउटा मूर्तिकारले ढुङ्गालाई छिनो र हथौडाको कठोर प्रहार गरेर एउटा सुन्दर मूर्ति बनाउँछ, त्यसरी ही समाजको आलोचना र समीलोचनाले व्यक्तिको कमजोरीलाई हटाई उसलाई परिष्कृत बनाउने काम गर्छ।
क)आत्म-समीक्षाको अवसर:
आलोचनाले मानिसलाई आफ्नो अहंकारबाट बाहिर निस्केर आत्म-अवलोकन गर्ने अवसर दिन्छ। हाम्रा समर्थकहरूले हाम्रा गल्तीहरूलाई लुकाउन सक्छन्, तर हाम्रा आलोचकहरूले ती गल्तीहरूलाई स्पष्ट रूपमा देखाउने गर्छन्। यस अर्थमा, आलोचकहरू हाम्रा निःशुल्क सल्लाहकार हुन्।
ख)दृढ संकल्पको विकास:
जब कुनै व्यक्तिलाई समाजले कमजोर ठान्छ वा उसको क्षमतामाथि शंका गर्छ, तब भित्रैदेखि एउटा प्रतिरोधात्मक ऊर्जा पैदा हुन्छ। त्यो ऊर्जालाई सकारात्मक दिशामा मोड्न सकेमा त्यसले असम्भव मानिएका कार्यहरूलाई पनि सम्भव तुल्याउँछ। आलोचनाले मानिसको इच्छाशक्तिलाई इस्पात जस्तै बलियो बनाउँछ।
ग)परिपक्वता र नेतृत्व क्षमताको विकास:
वैश्विक नेतृत्वमा पुग्ने व्यक्तिहरू कहिल्यै पनि आलोचनाबाट भाग्दैनन्। उनीहरूले आलोचनालाई ‘फिडब्याक’ (प्रतिपुष्टि) का रूपमा लिन्छन्। सही आलोचनालाई स्वीकार गरेर गल्ती सुधार्नु र गलत वा ईर्ष्यापूर्ण आलोचनालाई बेवास्ता गर्दै आफ्नो बाटोमा अघि बढ्नु नै सच्चा नेतृत्वको पहिचान हो।
२.अरूलाई बिगार्न भन्दा आफूलाई बनाउनमा समर्पितहरूको सफलताको दर्शन:
आजको समाजमा एउटा ठूलो रोग छ: अरूको खुट्टा तान्ने र अरूलाई विगारेर आफू अगाडि बढ्न खोज्ने प्रवृत्ति। तर इतिहास साक्षी छ, जसले अरूको विनाशको योजना बुन्छ, उसले कहिल्यै पनि स्थायी सफलता प्राप्त गर्न सक्दैन। वास्तविक र अर्थपूर्ण सफलता तिनैले पाएका छन्, जसले आफ्नो सम्पूर्ण ऊर्जा, समय र ध्यान अरूलाई बिगार्नमा होइन, बल्कि आफूलाई बनाउनमा, आफ्नो ज्ञान र कौशललाई निखार्नमा समर्पित गरे।
ऊर्जाको सकारात्मक व्यवस्थापन:
मानव ऊर्जा सीमित हुन्छ। यदि हामीले त्यो ऊर्जा अरूको कुभलो सोच्न, ईर्ष्या गर्न वा कसैलाई तल झार्नमा खर्च गर्यौँ भने, हामीसँग आफ्नो प्रगतिका लागि ऊर्जा बाँकी रहँदैन। आफूलाई बनाउनमा समर्पित व्यक्तिहरूले संसारको कोलाहल र नकारात्मकताबाट आफूलाई टाढा राख्छन्। उनीहरूको प्रतिस्पर्धा अरूसँग हुँदैन, बरु हिजोको आफ्नै रूपसँग हुन्छ। उनीहरू हरेक दिन आफूलाई अघिल्लो दिनभन्दा उत्तम बनाउने दौडमा हुन्छन्। यही “आत्म-निर्माणको दर्शन” नै वैश्विक नेतृत्वको मूल आधार हो।
३.वैश्विक परिप्रेक्ष्य: संघर्ष र सामाजिक विभेद छिचोलेर इतिहास रच्ने नायकहरू:
संसारका अनुकरणीय व्यक्तिहरूको जीवनी हेर्ने हो भने उनीहरूले भोगेको संघर्ष र सामाजिक विभेदको गहिराइ सामान्य मानिसले कल्पना पनि गर्न सक्दैन।
नेल्सन मण्डेला: २७ वर्षको जेल र क्षमाको नेतृत्व:
दक्षिण अफ्रिकाका नेल्सन मण्डेलाले रङ्गभेद (Apartheid) विरुद्धको आन्दोलनमा आफ्नो जीवनको २७ वर्ष झ्यालखानामा बिताउनुपर्यो। उनलाई आतंकवादी भनियो, समाजका शासक वर्गले चरम आलोचना र दमन गरे। तर जब उनी जेलबाट मुक्त भए, उनले आफूलाई थुन्नेहरूविरुद्ध बदला लिने सोच राखेनन्। उनले देश बनाउनमा आफ्नो ध्यान केन्द्रित गरे र ‘इन्द्रेणी राष्ट्र’ (Rainbow Nation) को निर्माण गरे। अरूलाई बिगार्ने होइन, आफू र आफ्नो राष्ट्रलाई बनाउने उनको यही दर्शनले उनलाई वैश्विक नायक बनायो।
डा.भीमराव आम्बेडकर: छुवाछूतको अपमानदेखि संविधान निर्मातासम्म
भारतको इतिहासमा डा. बी.आर. आम्बेडकरको जीवन सामाजिक विभेद छिचोल्ने एउटा सबैभन्दा ठूलो उदाहरण हो। ‘अछूत’ भनिएको दलित समुदायमा जन्मिएका कारण उनले विद्यालयमा पिउने पानी समेत छुन पाउँदैनथे। समाजले उनलाई पाइला-पाइलामा अपमानित गर्यो, उनको क्षमतामाथि खिल्ली उडायो। तर उनले समाजसँग द्वन्द गरेर समय बर्बाद गरेनन्। उनले आफूलाई शिक्षाको माध्यमबाट यति बलियो बनाए कि उनी कोलम्बिया विश्वविद्यालय र लन्डन स्कूल अफ इकनोमिक्सबाट विद्यावारिधि गर्ने पहिलो भारतीय बने। अन्ततः, उनले नै भारतको संविधान निर्माणको नेतृत्व गरे। उनले प्रमाणित गरे कि अपमानको जवाफ प्रतिशोधले होइन, प्रेरणाले दिनुपर्छ।
४.नेपाली परिप्रेक्ष्य: अभाव, विभेद र आलोचनामाथि विजय पाउने नेपाली ताराहरू
नेपाली माटोमा पनि यस्ता अनेकौँ सपुतहरू जन्मिएका छन्, जसले चरम गरिबी, शारीरिक अशक्तता, सामाजिक रूढिवादी र आलोचनाको पहाडलाई भत्काएर समाजलाई उज्यालो मार्ग देखाए।
झमक घिमिरे: खुट्टाका औँलाले लेखिएको साहित्यिक क्रान्ति:
नेपाली साहित्य जगतकि देदीप्यमान नक्षत्र झमक घिमिरेको जीवन संघर्ष कुनै चमत्कारभन्दा कम छैन। जन्मजात मस्तिष्क पक्षाघात (Cerebral Palsy) का कारण उनका हातगोडा चल्दैनथे, उनी बोल्न सक्दिनथिन्। यस्तो अवस्थामा समाजले उनलाई ‘पूर्वजन्मको पाप’, ‘बोझ’ र ‘सराप’ भन्दै चरम अपहेलना र आलोचना गर्यो। उनलाई अक्षर सिक्ने अधिकारबाट समेत बञ्चित गर्न खोजियो।
तर झमकले हार मानिनन्। उनले अरूको दयाको पात्र बन्नुभन्दा आफूभित्र लुकेको चेतनालाई जगाउने संकल्प गरिन्। हात नचलेपछि उनले खुट्टाका औँलाहरूका माध्यमबाट भुइँमा अक्षर कोर्न थालिन्। समाजको गिल्ला र उपहासलाई उनले आफ्नो साधनाको इन्धन बनाइन्। परिणामस्वरुप, उनले ‘जीवन काँडा कि फूल’ जस्तो कालजयी कृति लेखेर नेपालको सर्वोच्च साहित्यिक पुरस्कार “मदन पुरस्कार” प्राप्त गरिन्। समाजले जसलाई ‘अशक्त’ भनेर आलोचना गरेको थियो, आज उनी संसारभरिका करोडौँ मानिसका लागि प्रेरणाको स्रोत बनेकी छिन्। उनले अरूलाई दोष दिनुको साटो आफूलाई सिर्जनाको शिखरमा पुर्याएर देखाइन्।
महाकवि लक्ष्मीप्रसाद देवकोटा: पागलपनको लाञ्छना र साहित्यिक उचाई:
नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवन पनि आलोचना र समीलोचनाको कडा कसिमा घोटिएको जीवन हो। तत्कालीन समाजले उनको असाधारण प्रतिभा र विचारको गतिलाई बुझ्न सकेन। उनलाई आर्थिक अभावले जीवनभर सताइरह्यो। कतिसम्म भने, उनको फरक र दुरगामी सोचका कारण समाजका मानिसहरू र समकालीन आलोचकहरूले उनलाई ‘पागल’ सम्म भने र उनलाई राँचीको मानसिक अस्पतालमा समेत पठाइयो।
देवकोटाले तत्कालीन समाजको यो कठोर र क्रूर आलोचनाको जवाफ कसरी दिए? उनले ‘पागल’ शिर्षककै कालजयी कविता लेखेर समाजको संकुचित सोचमाथि कडा प्रहार गरे। उनले अरू कसैको कुभलो चिताएनन्, बरु भोकभोकै रहेर पनि नेपाली साहित्यलाई ‘मुनामदन’, ‘शाकुन्तल’ जस्ता अमूल्य निधिहरू दिए। आलोचना गर्नेहरू हराएर गए, तर आफूलाई साहित्य सेवामा समर्पित गर्ने देवकोटा आज हरेक नेपालीको हृदयमा अमर छन्।
अनुराधा कोइराला: सामाजिक संकुचन तोड्दै हजारौँ चेलीको उद्धार:
सामाजिक अभियन्ता अनुराधा कोइरालाले जब माइती नेपालको स्थापना गरेर मानव बेचबिखन विरुद्ध काम गर्न सुरु गरिन्, तब समाज उनलाई सहयोग गर्न तयार थिएन। समाजका कतिपय तप्काले उनलाई ‘पारिवारिक संरचना बिगार्ने’, ‘गम्भीर सामाजिक मुद्दालाई बजारमा ल्याउने’ भन्दै अनेक लाञ्छना र आलोचना गरे। शक्तिशाली तस्करहरूबाट उनलाई ज्यान लिने धम्की र अपमान निरन्तर आइरह्यो।
तर अनुराधा कोइरालाले ती आलोचना र अवरोधहरूको पर्वाह गरिनन्। उनले आफ्नो ध्यान केवल एउटै कुरामा केन्द्रित गरिन्: आफ्ना चेलीबेटीहरूको रक्षा र उद्धार। कसैले उनको बाटोमा ढुङ्गा फ्याँक्यो भने, उनले तिनै ढुङ्गाहरूलाई बटुलेर न्यायको बलियो जग बसालिन्। उनको यही निःस्वार्थ समर्पण र आत्म-बलका कारण उनले वैश्विक मञ्चमा “CNN Hero” को उपाधि प्राप्त गरिन् र नेपालको नाम संसारभर उच्च बनाइन्।
५.विद्यार्थीदेखी वैश्विक नेतृत्वसम्मको मार्गचित्र: आधुनिक युवाका लागि सन्देश:
यी, महान् वैश्विक व्यक्तित्वहरूको जीवनबाट आजका विद्यार्थी र युवाहरूले सिक्नुपर्ने पाठ स्पष्ट छ। यदि तपाईँ आफ्नो जीवनमा केही ठूलो गर्न चाहनुहुन्छ भने, निम्न कुराहरूलाई आत्मसात गर्नैपर्छ:
१.आलोचनालाई ऊर्जा बनाउनुहोस्: कसैले तपाईँको आलोचना गर्छ भने आक्रोशित नहुनुहोस्। त्यो आलोचनामा सत्यता छ भने आफूलाई सुधार्नुहोस्, यदि त्यो ईर्ष्याप्रेरित छ भने आफ्नो सफलताद्वारा त्यसको जवाफ दिनुहोस्।
२.आफ्नो निर्माणमा समय खर्चिनुहोस्: अरूको बदख्वाइँ गर्ने, सामाजिक सञ्जालमा अरूलाई गाली गर्ने वा कसैलाई तल गिराउने खेलमा लाग्नु समय र ऊर्जाको बरबादी हो। त्यो समय पुस्तक पढ्न, नयाँ सीप सिक्न र आफ्नो व्यक्तित्व विकासमा लगाउनुहोस्।
३.विभेद र अवरोध अस्थायी हुन्: जात, वर्ग, लिङ्ग वा शारीरिक अवस्थाका आधारमा हुने विभेदले तपाईँको बाटो रोक्न सक्दैन, यदि तपाईँको मनमा दृढ संकल्प र मस्तिष्कमा स्पष्ट लक्ष्य छ भने तपाईले संसारको दिशा परिवर्तन गर्ने ताकत राख्नु हुन्छ।
उपसंहार:
विद्यार्थी जीवन सिक्ने र संस्कार बसाल्ने उमेर हो। यही उमेरदेखि नै आलोचना र समीलोचनालाई सहन सक्ने र त्यसबाट पाठ सिकेर अगाडि बढ्ने बानी बसाल्नुपर्छ। अरूलाई बिगार्न भन्दा आफूलाई बनाउनमा समर्पित हुने व्यक्तिहरू नै ढिलो वा चाँडो सफलताको शिखरमा पुग्छन्। नेल्सन मण्डेला, डा. आम्बेडकर, झमक घिमिरे र लक्ष्मीप्रसाद देवकोटा जस्ता महापुरुषहरूको जीवन गाथाले हामीलाई यही सिकाउँछ कि: बाटो जतिसुकै कठिन भए पनि, समाज जतिसुकै प्रतिकूल भए पनि, यदि हामी आफ्नो कर्मप्रति इमानदार छौँ र आफूलाई निरन्तर परिष्कृत गरिरहन्छौँ भने, हामी विद्यार्थीको सानो घेराबाट निस्किएर वैश्विक नेतृत्वको विशाल मञ्चसम्म पुग्न सफल हुनेछौँ। जीवन काँडैकाँडाको बीचमा फुल्ने फूल हो, यसलाई आलोचनाको कसिमा खारेर सुन्दर बनाउनु नै मानव जीवनको सार्थकता हो।
सर्वेभवन्तु सुखिन: