काठमाडौं– आज २३औँ निजामती सेवा दिवस मनाइँदैछ। तर, रसुवागढीस्थित नेपाल–चीन सीमाक्षेत्रमा आएको भीषण बाढीबाट उत्पन्न विपद्का कारण यस वर्ष दिवसका सम्पूर्ण औपचारिक कार्यक्रम रद्द गरिएको छ।
निजामती सेवा दिवस मूल समारोह समितिको बैठकले यस वर्षका लागि निर्धारित सबै कार्यक्रम रद्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार बाढीबाट ठूलो जनधनको क्षति भई मुलुक शोकमा रहेको तथा राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मी खोज, उद्धार तथा राहत कार्यमा खटिनुपर्ने अवस्थालाई ध्यानमा राख्दै औपचारिक कार्यक्रम नगर्ने निर्णय गरिएको हो।
सरकारले निजामती सेवा दिवसका लागि विनियोजन गरिएको बजेट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन सम्बन्धित सबै निकायलाई अनुरोध गरेको छ।
नेपालमा निजामती सेवा दिवस औपचारिक रूपमा विसं २०६२ भदौ २२ गतेदेखि मनाउन थालिएको हो। विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्य नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिनको स्मरणमा हरेक वर्ष भदौ २२ गते यो दिवस मनाइँदै आएको छ।
हाल नेपालमा करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन्। यस वर्ष भने दिवसका अवसरमा हुने औपचारिक कार्यक्रमभन्दा विपद् प्रभावितको खोज, उद्धार तथा राहतलाई प्राथमिकता दिइएको छ।