काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।
सत्ता साझेदार दलहरु खासगरी माओवादी केन्द्र र एमालेबीच सरकार विस्तारकै विषयमा असमझदारी कायम रहेको विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड ओलीनिवास पुगेको बुझिएको छ ।
पुस २६ गते विश्वासको मत लिएका प्रचण्डले एमालेसँग असमझदारी बढेपछि सरकार विस्तारमा ढिलाई भएको अड्कलबाजीका बीच यो छलफल हुन लागेको हो ।
यस अघि आइतबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच छलफल भएको थियो ।
यसअघि आइतबार सरकार विस्तार हुने भनिएको भएपनि पोखरामा विमान दुर्घटना भएकाले हुन सकेन । अब प्रधानमन्त्री प्रचण्डले मंगलबार सरकार विस्तारको तयारी गरेको बुझिएको छ । त्यसअघि सत्ता साझेदार दल भित्र सहमतिको प्रयासमा प्रचण्ड देखिएका छन् ।
अब सरकार विस्तार हुदा राप्रपा र जसपा पनि सरकारमा जाने तयारी गरिरहेका छन् ।