काठमाडौं– प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीले विभिन्न जलविद्युत आयोजनाका सुरुङहरूमा पारेको असर विभिन्न अन्तर्राष्ट्रिय अनुभवको तुलनामा फरक भएकाले उद्धार गर्न कठिनाइ र ढिला भएको बताएका छन्।
आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकको शुरूमा नै सम्बोधन गर्दै प्रधानमन्त्री शाहले रसुवा बाढीपछि जलविद्युत आयोजनाहरूका सुरुङमा आएको विपत्ति विशेष किसिमको भएको टिप्पणी गरे।
‘टनेलमा विपद् आउँदा सुरुङमा आएको पहिरो पन्छाएर प्रवेश गर्ने विशेषज्ञता विश्वभर रहेको छ। तर यो फरक घटना हो,’ प्रधानमन्त्री शाहले भने, ‘यहाँ टनेलहरू पहिरोले थुनिएको नभई बाढी र हिलो माटो भित्र परेर थुनिएका हुन्। यस्तो अवस्थाको सुरुङ खोल्ने विशेषज्ञता अरु मुलुकहरूसँग र हामीसँग पनि थिएन।’
अरु मुलुकका सुरुङहरूमा आउने विपद् र त्यसपछिको उद्दार र रसुवाबाढीपछि जलविद्युत आयोजनाका सुरुङहरूमा मानिसहरू थुनिएको घटना फरक प्रकृतिको भएको उनको भनाई थियो।
सुरुङ पुरिएका ठाँउहरूमा मौसमले साथ दिएमा र हिलो सुकेपछि मात्रै काम गर्न सकिने भन्दै भौगोलिक कारणले पनि कठिनाई भइरहेको उनको दाबी थियो। कतिपयले माटो पन्छाउन स्काभेटरहरूको संख्या बढाउनुपर्ने भनी दिएको सुझावबारे समेत उनले संसद्मा स्पष्टीकरण दिएका छन्।
धेरै स्काभेटरहरु सुरुङ पुरिएको साइटमा लगेर मात्रै काममा प्रगति नहुने भन्दै उनले एउटा सुरुङमा एक पटकमा एउटा मात्रै एस्काभेटरले काम गर्न सकिने बताए।
‘गुगल गरेर र एआईलाई सोधेको भरमा मात्रै हुँदैन। विदुर पुगेर हेरेको भरमा मात्रै त्यहाँको सबै कुरा थाहा हुँदैन’ प्रधानमन्त्री साहले प्रतिनिधिसभाको बैठकमा भने, ‘हामीले र हाम्रो सेना, शसस्त्र प्रहरी लगायतले त्यहाँ काम गरिरहनुभएको छ। यो काम भएन, त्यो काम भएन भन्नुभन्दा पनि उहाँहरुलाई प्रोत्साहन दिन लाग्नुपर्छ।’
गतसाताको बाढी आएलगत्तै शुरुमा नै विदेशी विशेषज्ञहरूलाई सहयोगका लागि अनुमति नदिइएको भनी कतिपयले सरकारको आलोचना गरेका छन्। त्यसतर्फ संकेत गर्दै उनले त्यतिबेला तत्काल सुरुङ पुरिएको ठाँउमा ओर्लिनसक्ने अवस्था समेत नभएको दाबी गरे।
प्रधानमन्त्री शाहका अनुसार, बाढीले भोटेकोशी, त्रिशूली करिडोरमा सञ्चालित आठ वटा आयोजनामा २८१ मेगावाट विद्युत उत्पादन भएको थियो भने निर्माणाधीन अरु चार वटा आयोजना ३८८ मेगावाट क्षमतामा निर्माणाधिन थिए। तीमध्ये केहीमात्रै मर्मत हुन सक्ने र ठूलो लगानी लाग्ने देखिएको सदनलाई जानकारी गराएका हुन्।
बाढीले चार हजार ३१ मेगावाट विद्युत उत्पादन अवरुद्ध भएको बताउदै उनले नुवाकोटमा वैकल्पिक प्रशारण व्यवस्था मार्फत ८५ प्रतिशत क्षेत्रमा विद्युत् सेवा फेरि चालु गरेको बताए। धादिङमा ९८ प्रतिशत र रसुवामा ४० प्रतिशत विद्युत सेवा पुनर्स्थापना भइसकेको उनको दावी थियो।