भोटेकोशीको नदी थुनिएको विषयमा चीनसँग नियमित संवाद, तत्काल ठूलो जोखिम नरहेको सरकारको भनाइ - Chaitanya News
  • 2026-08-28
  • 15:10:57
  • शुक्रबार,भाद्र १२, २०८३
  • भोटेकोशीको नदी थुनिएको विषयमा चीनसँग नियमित संवाद, तत्काल ठूलो जोखिम नरहेको सरकारको भनाइ

    भोटेकोशीको नदी थुनिएको विषयमा चीनसँग नियमित संवाद, तत्काल ठूलो जोखिम नरहेको सरकारको भनाइ

    काठमाडौँ– सरकारले रसुवाको केरुङ क्षेत्रमा भोटेकोशी नदी थुनिएको विषयमा चीन सरकारसँग निरन्तर संवाद भइरहेको र हाललाई कुनै ठूलो जोखिम नरहेको जनाएको छ।

    आज (शुक्रवार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिएका हुन्।

    मन्त्री पोखरेलका अनुसार परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ पक्षसँग भइरहेको नियमित संवादका क्रममा तत्काल ठूलो खतराको संकेत नदेखिएको जानकारी प्राप्त भएको छ। रसुवाको केरुङमा भोटेकोशी नदी थुनिएको स्थानबाट पानीको बहाव सतहभन्दा माथि (ओभर फ्लो) हुन थालेकाले तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन सरकारले आग्रह गरेको छ।

    नदीको अवस्थाबारे स्पष्ट पार्दै मन्त्री पोखरेलले भने, ‘अहिले बाँध नै फुटेको अवस्था भने होइन । केही साना हिमताल ९ग्लेसियर० हरू फुटेका कारण विभिन्न स्थानमा लेदोसहितको पानी ओभर फ्लो भएको छ। यद्यपि, तत्कालै ठूलो विपद्को जोखिम नदेखिए पनि सबैलाई उच्च सतर्कता अपनाउन हामी आग्रह गर्दछौँ।’

    चीनतर्फबाट प्राप्त जानकारीका आधारमा सरकारले स्थितिको निरन्तर अनुगमन गरिरहेको र जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गरिरहेको समेत प्रवक्ता पोखरेलले बताए।

    सरकारले नदी किनारका बस्तीहरूलाई विशेष सजकता अपनाउन र आधिकारिक सूचनाको प्रतीक्षा गर्न सूचित गरेको छ ।