काठमाडौँ– त्रिशूली नदीमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राहत वितरण सुरु गरेको छ। संघले प्रारम्भिक चरणमा खाद्यान्न, लत्ताकपडा, औषधि र टेन्टसहितका अत्यावश्यक सामग्री प्रभावित क्षेत्रमा पुर्याएको हो।
एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र केन्द्रीय उपाध्यक्ष रोजिना प्रधान राईसहितको टोलीले नुवाकोटको बट्टार, त्रिशूली बजारलगायत बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै पीडितलाई राहत सामग्री वितरण गरेको छ।
स्थलगत निरीक्षणपछि डा. महतोले बाहिर सार्वजनिक भएका विवरणभन्दा घटनास्थलमा क्षतिको अवस्था अझ गम्भीर रहेको बताए। अहिले उद्धार र राहतलाई प्राथमिकतामा राखेर प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न संघ सक्रिय भएको उनको भनाइ छ।
एनआरएनएले प्रभावितका लागि पहिलो चरणमा ५ करोड रुपैयाँ बराबरको राहत प्याकेज परिचालन गर्ने जनाएको छ। आपत्कालीन बैठकबाट राहत प्याकेज घोषणा गरिएपछि संयुक्त राष्ट्रसंघीय मापदण्डअनुसारका टेन्ट, खाद्यान्न र औषधिलगायत सामग्री प्रभावित क्षेत्रमा पुर्याउन थालिएको उपाध्यक्ष राईले बताइन्।
राहत वितरणलाई प्रभावकारी बनाउन संघले स्थानीय प्रशासन, प्रमुख जिल्ला अधिकारीको कार्यालय तथा स्थानीय तहसँग समन्वय गर्ने जनाएको छ। तत्कालको राहतपछि नेपाल सरकारसँग सहकार्य गर्दै प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माणमा समेत गैरआवासीय नेपाली समुदायको सहभागिता गराउने तयारी संघको छ।
उपाध्यक्ष राईका अनुसार विपद्को समयमा विदेशमा रहेका नेपालीहरू प्रभावित नागरिकको सहयोगमा जुट्न इच्छुक छन्। एनआरएनएले यसअघि भूकम्प र कोभिड–१९ महामारीका समयमा पनि सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा पनि सरकारसँग समन्वय गरेर पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग गर्ने जनाएको छ।
नुवाकोटमा राहत वितरण गरेपछि एनआरएनएको टोलीले अन्य बाढी प्रभावित जिल्लामा समेत पुगेर आवश्यक सामग्री उपलब्ध गराउने योजना बनाएको छ। उता, प्रभावित क्षेत्रमा नेपाली सेनासहितका सुरक्षा निकायले बेपत्ता व्यक्तिको खोजी तथा घाइतेको उद्धार कार्य जारी राखेका छन्।