काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ४ सय ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी ९ सय ७७ जना अझै बेपत्ता छन्।
प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेतीले शुक्रवार सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार, बाढी प्रभावित क्षेत्रबाट हालसम्म ३ हजार २५३ जनाको जीवितै उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये ५ सय जनालाई बिहीबार मात्रै जलविद्युत आयोजनाको टनेल (सुरुङ) बाट निकालिएको थियो। सुरुङमा अझै केही व्यक्तिहरू फसिरहेको र उनीहरूको उद्धार प्रयास जारी रहेको डा। उप्रेतीले बताए।
उद्धार कार्यलाई तीव्रता दिन शुक्रवार बिहानै तीनवटा हेलिकप्टर परिचालन गरिएको छ। सडक सञ्जाल विच्छेद भएका ठाउँमा खाद्यान्न पुर्याउन एक टनसम्म तौल बोक्न सक्ने ‘लिफ्टिङ ड्रोन’ प्रयोग गरिएको प्राधिकरणले जनाएको छ। नेपाली सेना र नेपाल प्रहरीको टोलीलाई शव व्यवस्थापन, उद्धार र आवश्यकता पहिचानका लागि विभिन्न स्थानमा खटाइएको छ। हेलिकप्टरका लागि नुवाकोट स्टेशनबाट इन्धन आपूर्ति गर्ने व्यवस्था मिलाइएको छ।
प्राधिकरणका अनुसार फेला परेका शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा १ सय ७८ र नवलपरासी पूर्वमा ११० जना रहेका छन्। अन्य जिल्लाहरूमा गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव प्राप्त भएको छ। कतिपय स्थानमा मानव अंगहरू मात्र फेला परेकाले पहिचानमा चुनौती देखिएको छ।
बेपत्ता हुनेहरूमा सुरक्षाकर्मी र सरकारी कर्मचारीको संख्या पनि ठुलो छ। नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना कर्मचारी अझै सम्पर्कविहीन छन्। यस्तै, रसुवाबाट १६१ र नुवाकोटबाट १ जना सर्वसाधारण बेपत्ता भएको विवरण प्राप्त भएको छ। बाढीमा परी घाइते भएका ७३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बेत्रावती क्षेत्रमा रहेका १७ जना घाइतेलाई तत्काल अक्सिजनको आवश्यकता परेकाले सोको व्यवस्थापन भइरहेको प्राधिकरणले जनाएको छ।
उत्तरगया, डाँडागाउँ र किस्पाङ गाउँपालिकाको सीमा क्षेत्रमा करिब एक सय जना तथा लिरिंगे स्कुलमा १ सय ५० जना मानिसहरू सुरक्षित अवस्थामा रहेका छन् । उनीहरूलाई त्रिशूली नदी पार गराएर सुरक्षित गन्तव्यमा पुर्याउने काम भइरहेको छ। यस्तै, २ सय १६ मेगावाटको त्रिशूली हाइड्रोपावरमा रहेका व्यक्तिहरूका लागि खाद्यान्न प्रबन्ध मिलाइएको र नदी किनारमा भेटिएका शवहरूको व्यवस्थापन भइरहेको जानकारी डा। उप्रेतीले दिए। प्राधिकरणले विपद् व्यवस्थापनका लागि राज्यका सबै संयन्त्र २४ सै घण्टा परिचालित रहेको जनाएको छ।