काठमाडौँ– रसुवा बाढीपछि राहत र पुनर्निर्माणबारे निर्णय गर्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सुरु भएको हो।
रसुवाको भोटेकोसी क्षेत्रमा १० गते आएको बाढीबाट भएको क्षति तथा त्यसपछिको उद्धार, राहत र पुनर्निर्माणका विषयलाई बैठकको प्रमुख कार्यसूचीमा राखिएको छ।
बाढीबाट प्रभावित नागरिकलाई उपलब्ध गराइँदै आएको राहतलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा बैठकमा आवश्यक छलफल हुने बताइएको छ। साथै, बाढीका कारण क्षतिग्रस्त सडक, पुललगायत भौतिक संरचनाको पुनर्निर्माण अघि बढाउन सरकारले लिनुपर्ने नीतिगत तथा प्रशासनिक निर्णयबारे पनि बैठकमा विचार गरिनेछ।
विपदबाट प्रभावित क्षेत्रमा तत्कालीन राहत व्यवस्थापनसँगै क्षतिग्रस्त पूर्वाधारको पुनस्स्थापना र पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने सम्बन्धमा मन्त्रिपरिषद्बाट आवश्यक निर्णय हुने अपेक्षा गरिएको छ।