भोटेकोशी बाढी : तीन जिल्लाबाट १ हजार ५४५ जनाको उद्धार, २८ प्रहरी अझै बेपत्ता - Chaitanya News
  • 2026-08-28
  • 12:15:53
  • शुक्रबार,भाद्र १२, २०८३
  • भोटेकोशी बाढी : तीन जिल्लाबाट १ हजार ५४५ जनाको उद्धार, २८ प्रहरी अझै बेपत्ता

    भोटेकोशी बाढी : तीन जिल्लाबाट १ हजार ५४५ जनाको उद्धार, २८ प्रहरी अझै बेपत्ता

    काठमाडौँ– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नेपाल प्रहरीले खोज तथा उद्धारलाई तीव्रता दिएको छ। बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङबाट हालसम्म १ हजार ५४५ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

    नेपाल प्रहरीले भदौ १२ गते बिहान ७ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार उद्धार गरिएकामध्ये रसुवाका ६४४, नुवाकोटका ८९८ र धादिङका तीन जना रहेका छन्। प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतको काम निरन्तर भइरहेको छ।

    बाढीपछि उद्धार तथा खोजी कार्यमा नेपाल प्रहरीका ४ हजार ३४८ जना कर्मचारी परिचालन गरिएको छ। उद्धार अभियानमा खटिएका प्रहरीमध्ये २८ जना कर्मचारी भने अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ।

    यसैबीच बाढी तथा अन्य विपद्जन्य घटनामा परी विभिन्न जिल्लामा हालसम्म ४६९ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार रसुवामा १२, धादिङमा ३३, गोरखामा ४४, पूर्वी नवलपरासीमा ११०, नुवाकोटमा ३७, चितवनमा १७८, तनहुँमा २८ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ।

    बाढी प्रभावित क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी बेपत्ता तथा प्रभावितको खोजी, उद्धार र राहत वितरणलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।