विपद्को असरपछि विश्वविद्यालयका परीक्षा रोकिँदै, भदौ १३ देखि परीक्षा स्थगित गर्न निर्देशन - Chaitanya News
  • 2026-08-28
  • 12:06:58
  • शुक्रबार,भाद्र १२, २०८३
  • विपद्को असरपछि विश्वविद्यालयका परीक्षा रोकिँदै, भदौ १३ देखि परीक्षा स्थगित गर्न निर्देशन

    विपद्को असरपछि विश्वविद्यालयका परीक्षा रोकिँदै, भदौ १३ देखि परीक्षा स्थगित गर्न निर्देशन

    काठमाडौँ– प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भदौ १३ गतेदेखि सञ्चालन हुने परीक्षा स्थगित गर्न सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन दिएका हुन्।

    विद्यार्थी, अभिभावक तथा आम नागरिकको अवस्था प्रतिकूल रहेको भन्दै मन्त्री पोखरेलले विश्वविद्यालयसम्बन्धी ऐनले दिएको अधिकार प्रयोग गरी तत्काल परीक्षा रोक्न निर्देशन दिएका हुन्। स्थगित परीक्षाको नयाँ तालिका परिस्थिति अनुकूल भएपछि सार्वजनिक गर्न भनिएको छ।

    त्यस्तै, भदौ १२ गते तोकिएको परीक्षामा विभिन्न कारणले सहभागी हुन नसकेका विद्यार्थीका लागि पनि पछि छुट्टै परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

    विपद्को समयमा विश्वविद्यालय तथा शैक्षिक संस्थामा अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रम पनि स्थगित गर्न मन्त्री पोखरेलले आग्रह गरेका छन्।

    विपद्बाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग निरन्तर सम्पर्क र समन्वय गरी आवश्यक सहयोग उपलब्ध गराउन विश्वविद्यालय तथा सम्बन्धित शैक्षिक संस्थालाई निर्देशन दिइएको छ। आवश्यक परे प्रभावित विद्यार्थी र अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्नसमेत भनिएको छ।

    विपद्का कारण विद्यार्थीको पढाइमा परेको असरलाई ध्यानमा राख्दै उनीहरूको शैक्षिक निरन्तरता कायम हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि उपकुलपतिहरूलाई आग्रह गरिएको छ।

    मन्त्री पोखरेलले विपद्को संवेदनशील अवस्थामा विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सुरक्षा र हितलाई प्राथमिकतामा राखेर तत्काल आवश्यक निर्णय लिन विश्वविद्यालय नेतृत्वलाई अनुरोध गरेका छन्।