काठमाडौँ– प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोरेको नेपालमा उद्धार, राहत र पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोत–साधनको अभाव हुन नदिने जनाएको छ। विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माणलाई लक्षित गर्दै करिब २५ अर्ब रुपैयाँ बराबरको वैदेशिक सहायता सुनिश्चित भइसकेको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन्।
बिहीवार सिंहदरबारमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको बैठकपछि अर्थमन्त्री वाग्लेले विपद् प्रभावित नागरिक तथा अलपत्र परेका विदेशी पर्यटकको उद्धारलाई तीव्रता दिइएको जानकारी दिए। उनका अनुसार प्रतिकूल भौगोलिक तथा मौसमी अवस्थाबीच पनि अहिले २२ वटा हेलिकोप्टर उद्धार कार्यमा परिचालित छन्।
विपद्पछिको अवस्थालाई तत्काल राहतमा सीमित नराखी पुनर्स्थापना र पुनर्निर्माणको चरणमा लैजान सरकारले वैदेशिक सहयोग परिचालन सुरु गरिसकेको उनले बताए। विश्व बैंकसँगको समन्वयमा करिब २५ अर्ब रुपैयाँ बराबरको आर्थिक सहायता सुनिश्चित भएको र चीन, भारत, जापान, एसियाली विकास बैंक तथा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघबाट समेत सहयोगको प्रतिबद्धता प्राप्त भएको वाग्लेले जानकारी दिए।
सरकारसँग तत्काल खर्च गर्न सकिने आन्तरिक स्रोतसमेत पर्याप्त रहेको उनको दाबी छ। चालु आर्थिक वर्षको बजेटमा विपद् व्यवस्थापनका लागि १० अर्ब रुपैयाँ छुट्याइएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ३४ करोड तथा गृह मन्त्रालयको कोषमा १ अर्ब १७ करोड रुपैयाँ मौज्दात रहेको अर्थमन्त्रीले बताए।
उनले विपद्को सामना गर्न सरकार एक्लैले सम्भव नहुने भन्दै ‘होल अफ द सोसाइटी’ अवधारणाअनुसार सरकार, राजनीतिक दल, नागरिक समाज र निजी क्षेत्र एकीकृत रूपमा परिचालन हुनुपर्नेमा जोड दिए।
भौतिक संरचनामा ठूलो क्षति
विपद्को प्रारम्भिक विवरणअनुसार २५ वटा पक्की पुलमा क्षति पुगेको छ। निजी क्षेत्रबाट सञ्चालित करिब ७०० मेगावाट क्षमताका जलविद्युत आयोजनासमेत प्रभावित भएका छन्।
वाग्लेले २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणबाट सिक्दै यसपटक पनि वैज्ञानिक तथ्य र जोखिम मूल्याङ्कनका आधारमा पुनर्निर्माणको बृहत् अभियान अघि बढाउनुपर्ने बताए। विपद्बाट क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्दा भविष्यमा त्यही जोखिम दोहोरिन नदिने गरी योजना बनाउनुपर्ने उनको भनाइ छ।
यसैबीच नवलपुर, चितवनलगायतका क्षेत्रमा फेला परेका शवको व्यवस्थापन तथा बेपत्ताको खोजीलाई सरकारले उच्च प्राथमिकतामा राखेको अर्थमन्त्रीले बताए।
राष्ट्रिय संकटको यो घडीमा राजनीतिक दलहरू एक ठाउँमा उभिनु सकारात्मक रहेको उल्लेख गर्दै उनले विपद् व्यवस्थापनलाई राजनीतिकभन्दा माथि राखेर सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताए।