प्रधानमन्त्री शाहले भने: अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्‍याउने काम भइरहेको छ - Chaitanya News
  • 2026-10-14
  • 07:31:13
  • बुधबार,आश्विन २८, २०८३
  • प्रधानमन्त्री शाहले भने: अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्‍याउने काम भइरहेको छ

    प्रधानमन्त्री शाहले भने: अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्‍याउने काम भइरहेको छ

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्‍याउने काम भइरहेको जानकारी गराएका छन्।

    प्रधानमन्त्री शाहले उद्धारका लागि आज बिहान ६ः३० बजेदेखि उडानहरू सुरु भइसकेका जानकारी गराए। बिहानदेखि हालसम्म १५ भन्दा बढी उडानहरू भइसकेका र थप हेलिकोप्टरहरू उडानका लागि तयारी अवस्थामा रहेको प्रधानमन्त्री शाहले बताए।

    ‘नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गर्न सफल भएको छ। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। यसै क्रममा टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको छ,’ प्रधानमन्त्री शाहले भने।

    प्रभावित स्थानमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट, फलाम–ढुङ्गा काट्ने मेसिन लगायत पुर्‍याउने क्रममा रहेको उनले बताए । विपद् प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था छिट्टै हुने प्रधानमन्त्री शाहले बताए ।

    ‘नुवाकोटमा अस्थायी शिविर तयार गरिसकिएको छ। खाना तथा पानीको व्यवस्था गरिएको छ,’ प्रधानमन्त्री शाहले जानकारी गराउँदै सामाजिक सञ्जालमा लेखेका छन्,‘ड्रोन सर्वेबाट सबै ठाउँको जानकारी सङ्कलन अन्तिम चरणमा छ। उद्धारको क्रममा हेलिकोप्टरमा सुरुमा सिकिस्त, वृद्ध, महिला र बालबालिकाहरूलाई प्राथमिकता दिइनेछ।’